काठमाडौँ - होटलको क्वारेन्टाइनमा सरसफाइसम्बन्धी काम गर्ने एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछिअस्ट्रेलियाको ब्रिसबेन शहर तीन दिनका लागि लकडाउन हुने भएको छ । क्विन्सल्यान्ड राज्यका अधिकारीहरुका अनुसार यी कर्मचारीमा बेलायतबाट आएको अति तीव्र गतिमा फैलनसक्ने भाइरस देखिएको थियो । त्यसैकारण, यो भाइरस अन्यमा फैलन सक्ने त्रास रहेको अधिकारीहरुले बताए ।
राज्यकी प्रिमियर अन्नास्टासिया पालास्जुकले शुक्रबार बिहान लकडाउन घोषणा गरेकी हुन् । शहरको अत्याधिक जनसंख्या बसोबास गर्ने पाँचवटा काउन्सिल क्षेत्रमा शुक्रबार स्थानीय समयअनुसार साँझ ६ बजेदेखि लकडाउन लागुुहुनेछ । यस अवधिमा अत्यावश्यक सामाग्री किन्न र स्वास्थ सम्बन्धी सेवाबाहेक अरु कामका लागि बाहिर निस्कन पाइनेछैन । भाइरसको रोकथामका लागि लक्षित गरेर लकडाउन घोषणा गरिएको उनले बताइन् ।
‘मलाई लाग्छ, बेलायत र विश्वका अन्य ठाउँमा कोरोना भाइरसको लहर कसरी फैलिएको छ भने सबैले देखेका छन् । हामी हाम्रो राज्यमा यस्तो देख्न चाहदैनौं,’ उनले भनिन् । त्यस्तै, बाहिर निस्कदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।
अस्ट्रेलियामा महामारी सुरु भएयता २८ हजार ५ सयमा कोरोना भाइरस संक्रमण देखिएको छ भने ९ सय ९ जनाले ज्यान गुमाएका छन् । गत वर्ष पहिलो लहर देखिएपनि यहाँ पछिल्लो समय संक्रमित हुनेको संख्या निकै कम छ । न्यु साउथ वेल्स र भिक्टोरिया राज्यमा पछिल्लो समय संक्रमणका केही घटनाको पुष्टि भएको छ, यद्यपी ती संक्रमण स्थानीय स्तरमा नभएर भ्रमणका आएका व्यक्तीहरुमा देखिएको अधिकारीहरु बताउँछन् ।बीबीसी
प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७