काठमाडौँ -गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नंं ८ सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै पीडित परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।
मृतकका परिवारजनले न्याय माग्दै जिल्ला अदालत रुकुमपश्चिम, उच्च अदालत सुर्खेत र सर्वोच्च अदालत काठमाडौंसम्म पुग्दा पनि शक्ति, पहुँच र प्रभावले छोराहरुले न्याय पाउनेप्रति आशंका व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो कुरा राख्ने क्रममा नबराज विकका बुवा मुनलाल नेपालीले भने, ‘प्रधानमन्त्रीज्यू, जातीय विभेदका कारण छोरा मारिए, न्याय नमारियोस् !’
नेपालीले ६ युवाहरुको सामुहिक हत्या भएको घटनामा राज्यबाट असहयोग भएको गुनासो गरे । सोती घटनामा संलग्नलाई कारबाही भएपछि मात्र छोराहरुको आत्माले शान्ति पाउने र आफूहरुले न्यायको महसुस गर्ने नेपालीको भनाइ थियो ।
मृतक गोविन्द शाहीकी आमा भुमीकुमारी शाहीले भनिन्, ‘हामीले न्यायको माग राख्दै न्यायलय धाउन थालेको ८ महिना वित्यो, तर अझै न्याय महसुस गरेका छैनौं, घटनामा संलग्नहरु समाजमा छाती फुलाएर हिँड्दा झन् पीडाबोध भएको छ ।’
प्रधानमन्त्री ओलीले सोती घटनामा संलग्नलाई कारबाही गरी छोड्ने विश्वास दिलाएका थिए । उनले कुनै पनि पहुँच, प्रभाव वा दवाबमा यो घटनाका दोषीले उन्मुक्ती नपाउने प्रतिवद्धता जनाए ।
न्यायको माग गर्दै मृतक नवराज विकका आमा–बुवा उर्मिला विक र मुनलाल नेपाली, गोविन्द शाहीका आमा भूमिकुमारी शाही, गणेश बुढा मगरका बुवा पदमबहादुर, टीकाराम नेपालीकी आमा लक्ष्मी र सञ्जु विकका आमा सविता काठमाडौ आएका छन् ।
सोती घटनाका परिवार न्याय माग्दै तीन दिनदेखि राजधानीका न्यायलय, राजनीतिक दलका प्रमुखहरु, पत्रकार र दलित अधिकारकर्मीहरुसँग भेट गरिरहेका छन् ।
प्रकाशित मिति: सोमबार, पुस २०, २०७७