काठमाडौँ -अमेरिकामा करिब ७० वर्षपछि एक महिलालाई मृत्युदण्ड दिइने भएको छ । जस्टिस डिपार्टमेन्टका अनुसार लिसा मोन्टग्यामेरीलाई जनवरी १२ मा इन्डियानामा घातक सुई लगाएर मृत्युदण्ड दिइँदैछ ।
सन् २००४ मा लिसा मोन्टग्यामेरीले मिसौसीमा एक गर्भवती महिलाको हत्या पश्चात्, उनको पेट काटेर बच्चा निकालेकी थिइन् ।यसअघि बोनी हेडी नामक महिलालाई मृत्युदण्ड दिइएको थियो। उनलाई सन् १९५३ मा मिसौरीमा ग्यास चेम्बरमा राखेर मृत्युदण्ड दिइएको डेथ पेनाल्टी इन्फर्मेशन सेन्टरले जानकारी दिएको छ ।
अमेरिकाको अटोर्नी जनरल विलियम बारले यसलाई जघन्य अपराधको सूचीमा राखेका छन् । गत वर्ष अमेरिकाको सरकारले मृत्युदण्डको यो निर्णय यथावत् हुने बताएको थियो ।
को हुन् लिसा मोन्टगोमेरी ?
लिसाले सन् २००४ मा कान्सासबाट मिसौरीस्थित बुबी जो स्टिनेटको घरसम्म ड्राइभ गरिन् । डिपार्टमेन्ट अफ जस्टिस प्रेस रिलिजका अनुसार उनको मुख्य उद्देश्य कुकुर किन्नु थियो ।
‘मोन्टगोमेरीले स्टिनेटलाई उनको घरभित्र आक्रमण गरिन् । उनी आठ महिनाकी गर्भवती थिइन् । सुरुमा उनले स्टिनेन्टलाई बेहोस् हुनेगरी आक्रमण गरिन्,’ यसमा भनिएको छ ।
‘किचनको चक्कू प्रयोग गरेर मोन्टगोमेरीले स्टिनेटको पेट काटिन्, यत्तिकैमा उनको होस् खुल्यो । त्यसपछि स्टिनेटले संघर्ष गर्न थालिन् । अन्ततः मोन्टगोमेरीले स्टिनेटको घाँटी थिची हत्या गरिन् । मोन्टगोमेरीले त्यसपछि स्टिनेटको शरीरबाट बच्चा निकालिन् र आफ्नै बच्चा भएको भनेर त्यहाँबाट निस्कन खोजिन् ।’ सन् २००७ मा मोन्टगोमेरीलाई अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय दिइयो ।
यद्यपि, मोन्टगोमेरीका वकिलले उनीमाथि वाल्यकालमा अत्यधिक कुटपिट भएकोले दिमागमा क्षती पुगेको र उनको मानसिक अवस्था पनि ठिक नभएकोले मृत्युदण्ड दिन नहुने बताइएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २०, २०७७