काठमाडौं- बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न उचित भूमिका निर्वाह गर्न नसकेको भन्दै सेवाबाट निलम्बन गरिएका एसपी दिल्लीराज विष्टलाई सरकारले पुनर्बहाली गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एसपी विष्टलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो।
विष्टलाई अदालतले समेत सफाइ दिएको थियो।अदालतबाट पनि सफाइ पाइसकेकाले उनलाई जिम्मेवारीमा पुनर्बहाली गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।
सेवाबाट निलम्बनमा परेपछि एसपी विष्टले पुनर्बहालीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दायर गरेका थिए। हत्याकाण्डको अनुसन्धानमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै उनलाई निलम्बन गरिएको थियो।
सोही निवेदनमाथि निर्णय गर्दै विष्टलाई सरकारले पुनर्बहाली गरेको थियो। यसअघि सोही प्रकरणमा तानिएका डिएसपी अंगुर जिसी पनि पुनर्बहाली भइसकेका छन्।
प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७