काठमाडौं– कैलालीमा प्रहरी हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–१० जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत असई गोबिन्द बिक र जवान रामबहादुर साँउदको हत्यामा संलग्न रहेका मुख्य अभियुक्त सुकबहादुर भन्ने अमर रानालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।
घटनाका मुख्य योजनाकार अमर घटनापश्चात फरार भई भारततर्फ गएका थिए। विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका–१९ फुलबारी क्षेत्रको नेपाल भारत सीमा नजिकबाट उनलाई पक्राउ गरिएको कैलालीका एसपी अनुपम राणाले जानकारी दिए।
सिमावर्ती क्षेत्रमा हुने अपराध एवं तस्करी नियन्त्रण प्रयोजनार्थ जुगेडाको दक्षिणी भागमा प्रहरीले नियमित गस्ती गर्ने गरेको थियो। सो क्रममा भारततर्फ गोरुगाडामा मटर तस्करी गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिने क्रममा तस्करहरुको समूहले गत कात्तिक १ गते असई विक र जवान साउदको हत्या गरेका थिए।
प्रकाशित मिति: सोमबार, पुस १३, २०७७