काठमाडौँ–नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्यालले किसानले वर्षौदेखी भोग्दै आएको रसायनिक मलको समस्या समाधान गर्नका निम्ती दृढ रहेको बताएकी छिन् । कृषि तथा पशुपंक्षी मन्त्रीका रुपमा आज (आइतबार) पदभार ग्रहण गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । मन्त्री अर्यालले मलको समस्या समाधान गर्न सातवटै प्रदेशमा २५÷२५ हजार मेट्रिक टन क्षमताको मल भण्डारणको व्यवस्था गरिने समेत बताइन् ।
कृषिमन्त्री अर्यालले वास्तविक कृषकको सूचिकरण गरी कृषक परिचयपत्र वितरण गर्दै कृषि मन्त्रालयबाट उपलब्ध हुने मल, बिउ, औजार, प्रविधि, अनुदान, कृषि बिमा र कृषि ऋण कृषक परिचयपत्रका आधारमा एकद्वार प्रणालीमार्फत लैजाने कार्यको यही फागुनबाट शुरुआत गरिने बताइन् । यसबाट वास्तिविक किसानले ठूलो राहत प्राप्त गर्ने अपेक्षा लिइएको समेत मन्त्री अर्यालले बताइन् ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई उद्देश्यअनुसार र प्रभावकारी ढंगले परिमार्जन गरी परिणाममुखी कार्यान्वयनमा ल्याइने मन्त्री अर्यालले बताइन् ।
कृषकबाट उत्पादित वस्तुले उचित बजार नपाएको र पाएपनी उचित मूल्य नपाएको व्यापक रुपमा गुनासो आउने गरेको भन्दै उनले यसको समाधान गर्नका निम्ती पहल गरिने बताइन् ।
प्रकाशित मिति: आइतबार, पुस १२, २०७७