पश्चिम नेपालको केन्द्र मानिने वुटवल उपमहानगरपालिकामा पनि यही असार १४ गते दोस्रो चरणको निर्वाचन अन्तर्गत स्थानीय तहको निर्वाचन हुँदै छ । संघीय संविधानलाई कार्यान्वयनमा लैजान महत्वपूर्ण हुने यस निर्वाचनबाट आउने स्थानीय सरकारले आफ्नो गाउँ आफैँ बनाउन महत्वपूर्ण काम गर्न सक्ने भएकाले त्यसका लागि योग्य र सक्षम प्रतिनिधिलाई अनुमोदन गर्नु आम जनताको कर्तव्य पनि हो । कांग्रेस र माओावदीको अगुवाईमा झण्डै टुक्राउने काम भएको पाँच नम्बर प्रदेशको महत्वपूर्ण सहर वुटवलको चुनावी महोल मतदानको दिन नजिकिदै जाँदा तातिएको छ । चुनावमा रोचक त के छ भने प्रदेश टुक्राउने असफल प्रयासमा हातेमालो गरेका कांग्रेस र माओवादीको गठबन्धन चुनावमा नि तालमेल गरिरहेको छ भने प्रदेशको रक्षा गर्न आन्दोलनको नेतृत्व गर्ने एमाले एक्लै चुनावी मैदानमा छ । जसको नेतृत्व शिवराज सुवेदीले गरेका छन । एमालेका तर्फबाट वुटवल उपमहानगर पालिकामा मेयरक उम्मेदवार रहेका उनै सुवेदीसँग गरिएको कुराकानीको अंश ।
० बुटवल उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नु भएको छ, तपाईंको उम्मेदवारी के का लागि ?
–बुटवल उप–महानगरपालिका क्षेत्रको समग्र विकासका लागि मेरो उम्मेदवारी हो ।
० बुटवल उपमहानगरको मेयर पदमा विजयी हुँदा गर्ने कामको केही योजना पनि बनाउनुभएको छ कि ?
–यहाँको भूउपयोग योजना तयार गरी सडक तथा यातायात गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने योजना मेरो रहेको छ । बुटवल उपमहानगर क्षेत्रका सम्पूर्ण सडकलाई एक वर्ष्भित्र कल्भर्ट निर्माणका साथै ह्युम पाइप विछ्याएर ग्राभेल सडकमा स्तरोन्नति गर्नुका साथै तीन वर्ष्भित्र यहाँका प्रमुख सडक कालोपत्रे गर्ने योजना बनाएको छु । लुम्बिनी बस टर्मिनललाई नगरबस टर्मिनलका रूपमा व्यवस्थित गरी थप अत्याधुनिक प्रादेशिक बस टर्मिनल निर्माण गरिने छ । तिनाउ र दानव नदीका निर्माणाधीन पुलहरूको निर्माण कार्य एक वर्ष्भित्रै सम्पन्न गर्नका लागि एमालेले प्रतिबद्धता प्रस्तुत गर्दै उम्मेदवारी दिएको हो । बुटवललाई वरपरका अरु नगर र गाउँसित पनि जोड्ने योजना छ । साथै बुटवलमा चक्रपथ निर्माण गर्ने योजना बनाएका छौं ।
० सडक विकासका धेरै योजना सुनाउनुभयो, अरु के योजना छन् ?
–अटोभिलेजको निर्माण कार्य सम्पन्न गरिने छ । प्रत्येक बस बिसौनी स्थलमा डिजिटल डिस्प्ले बोर्ड सहित व्यवस्थित यात्रु प्रतिक्षालयको ब्यवस्था गरिनेछ । तिनाउ पुलदेखि तामनगरसम्मको पूर्व–पश्चिम राजमार्गलाई छ लेनको सडकमा स्तरोन्नति गरिने छ । बुटवलदेखि सिद्धार्थनगर, लुम्बिनी, तिलौराकोट, देवदह र रामग्राम जोड्ने गरी टुरिस्ट बस, ट्रलिबस र मोनोरेल सेवा सञ्चालनमा ल्याउन पहल गर्न एमालेले जित्नुपर्छ ।
० खानेपानी, सरसफाई तथा फोहोरमैला व्यवस्थापन शहरी क्षेत्रका आम समस्याका रुपमा रहेको पाइन्छ । बुटवल उपमहानगर क्षेत्रभित्र यी समस्या समाधानका लागि के योजना बनाउनुभएको छ ?
–उपभोक्ता संस्थाहरूबाट सञ्चालित खानेपानी आयोजनालाई बृहत् झुम्साखोला खानेपानी परियोजनासँग आवद्ध गर्दै पचास वर्षे दीर्घकालीन खानेपानी व्यवस्थापन गरिने छ । तिनाउ नदीलाई ढल तथा फोहोरमुक्त र स्वच्छ बनाउने कार्यक्रम ल्याइने छ । निजी क्षेत्रमा सञ्चालित सेनेटरी व्यवसाय र सेवालाई भरपर्दाे र सुलभ बनाउने छ । निर्माणाधीन फोहरमैला प्रशोधन केन्द्रको निर्माण कार्य एक वर्ष्भित्र सम्पन्न गरी मल उत्पादनका साथै अन्य प्रशोधित वस्तुहरूलाई उद्योगका कच्चा पदार्थका रूपमा आपूर्ति गर्ने व्यवस्था गर्नुपर्छ । । नगरक्षेत्रभित्र ठाउँ ठाउँमा सार्वजनिक शौचालयको ब्यवस्था गरिने छ भने विद्युतीय शवदाह र सामाजिक संस्कारका लागि घरको सुविधासहित आधुनिक शवदाह स्थल निर्माण गर्ने योजना हाम्रो छ ।
० वातावरण संरक्षण, हरियाली र सहरी सौन्दर्यका कुराहरु पनि आइरहेका छन् नि ?
–बुटवल उपमहानगरलाई हरियाली सहरका रूपमा विकास गर्नुपर्छ । नदी उकास क्षेत्र तथा सार्वजनिक जग्गाहरू एकिन गरी हरियाली पार्कको विकास गरी पर्या–पर्यटनको प्रबद्र्धन नगरी सुख्खै छैन । बुटवललाई सुन्दर र सुरक्षित शरहका साथै धुँवा, धुलो, हिलो र मैलोमुक्त सहरका रूपमा विकास गर्नुपर्छ । बुटवल (पुरानो बटौली)लाई मौलिक एवं परम्परागत शैली सहितको आधुनिक सहरका रूपमा पुनर्निर्माण गर्न र रात्रिकालीन बजारको विकास गर्ने प्रतिबद्धता हामीले सार्वजनिक गरेका छौं ।त्यस्तै, बुटवल उपमहानगर क्षेत्रलाई ‘पर्यटक विश्राम स्थल’का रूपमा विकास गरी आतिथ्यताको सहर बनाउन, सिद्धबाबा, तिनाउ पुल र मघरघाट क्षेत्रमा बाँध बाँधी जल पर्यटनको विकास गर्न, तिनाउ–दानव कोरिडर क्षेत्रमा मनोरञ्जनात्मक पार्कहरूको विकास गर्न, नुवाकोट र वसन्तपुरलाई केबलकार सहितको हिल स्टेसनका रूपमा विकास गर्न, ऐतिहासिक जितगढी किल्लाको उत्खनन् एवं संरक्षण गरी आधुनिक लेजर प्रविधिको प्रयोगसहित नेपाल अङ्ग्रेज युद्ध र गोर्खा सैनिकले विजय प्राप्त गरेको दृश्य प्रदर्शन गर्न, नरैनापुर, हिलपार्क, नुवाकोट र वसन्तपुरमा आधुनिक रिभल्भिङ भ्युटावर निर्माण गर्नका लागि एमालेलाई जिताउन म बुटवलवासी मतदातालाई अनुरोध गर्दछु ।
० बुटवलमा सुकुम्वासी समस्या पनि छ, सुरक्षित आवास र जग्गा विकासको क्षेत्रमा के योजना बनाउनुभएको छ ?
–विपन्न वर्ग लक्षित ‘जनता आवास’ कार्यक्रम सञ्चालन गरिने छ । सुकुम्बासी एवं अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउन तथा कोदाले, विटौरी र गाउँबल्क तथा गुठीसम्बन्धी जग्गाको समस्या समाधान गरिने छ । मोतीपुर र सेमलारमा बृहत्तर जग्गा विकास आयोजना सञ्चालन गरी सहरी विकास अगाडि बढाउने प्रतिबद्धतासहित एमालेले उम्मेदवारी दिएको छ । त्यसका अतिरिक्त व्यावसायिक खेतीका लागि आवश्यक व्यवस्थापन गर्न, पशु बिमा कार्यक्रम र आधारभूत भेटनरी सेवा निःशुल्क उपलब्ध गराउन, चारतपाह नहरप्रणालीका बाँकी कामहरू पूरा गरी भूमिगत सिँचाइमा किसानको पहुँचमा पु¥याउन, डेरी उद्योगको स्थापना तथा मोतीपुर एवं सेमलार क्षेत्रमा आधुनिक कोल्ड स्टोर निर्माण गर्न तथा उपमहानगरभित्र सञ्चालनमा रहेका कृषि हाटबजारलाई आधुनिकीकरण गर्ने स्पष्ट योजनाका साथ मैले उम्मेदवारी दिएको हुँ ।
० यहाँ औद्योगिक क्षेत्रको व्यवस्थापन, बजार व्यवस्थापन र रोजगारीका समस्या कसरी समाधान गर्नुहुन्छ ?
–हालको औद्योगिक क्षेत्रलाई पूर्ण क्षमतामा सञ्चालन गरिने छ भने रुग्ण अवस्थामा रहेको बुटवल धागो कारखानालाई आधुनिक प्रविधि र यन्त्र उपकरणको व्यवस्थासहित पुनः सञ्चालनमा ल्याउने योजना हाम्रो छ । मोतीपुरमा प्रस्तावित प्रदूषणरहित आधुनिक औद्योगिक क्षेत्रको निर्माण दुई वर्ष्भित्र सम्पन्न गरी त्यहाँ सिर्जना हुने रोजगारीमा स्थानीय बासिन्दालाई प्राथमिकता दिइने छ भने युवा तथा महिला लक्षित निःशुल्क व्यावसायिक तालिम सञ्चालन गर्ने योजना बनाइएको छ । निजी क्षेत्र एवम् प्रादेशिक तथा संघीय सरकारसँगको सहकार्यमा ‘रोजगार बैंक’ स्थापना गरिने छ भने निर्माणाधीन बधशाला (स्लटर हाउस) को बाँकी काम सम्पन्न गरी निजी क्षेत्रसँगको सहकार्यमा सञ्चालनमा ल्याइने छ । खाद्य तथा पेय पदार्थको गुणस्तर परीक्षण गर्न, सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगानी,रोजगारीका अवसर सिर्जना,कालोबजारी तथा मुनाफाखोरी नियन्त्रण, ढुवानी तथा कवाड व्यवसायलाई व्यवस्थित गरी सुन्दर नगर विकास, निर्माण क्षेत्रसंग सम्बद्ध श्रमिकको विमाको व्यवस्था तथा यातायात श्रमिकका लागि विश्रा स्थलको व्यवस्था र स्वरोजगारमा आधारित श्रमिकको व्यवसायलाई व्यवस्थित गर्ने मेरो योजना रहेको छ ।
० शिक्षा क्षेत्रमा एमालेले कुनै नयाँ कार्यक्रमको योजना बनाएको छ कि ?
–माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गरिने छ । तामनगरस्थित कोरिया–नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी र बुटवल टेक्निकल इन्स्टिच्युटलाई प्राविधिक तथा व्यावसायिक शिक्षाको नेतृत्वदायी संस्थाका रूपमा विकास गर्दै विभिन्न सामुदायिक एवम् संस्थागत विद्यालयहरूमा रोजगारमूलक शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिने छ भने बुटवल बहुमुखी क्याम्पसलाई सामाजिक र विज्ञान विषयको अध्ययन अनुसन्धान केन्द्रको रूपमा विकास गरिने छ । बुटवलमा प्रादेशिक विश्वविद्यालय स्थापना र बुटवल बहुमुखी क्याम्पसको पुस्तकालयलाई नगरभित्रको आधुनिक, सुविधासम्पन्न र प्रविधियुक्त ई–पुस्तकालयका रूपमा विकास गरिने छ ।
० बुटवलमा विश्वसनीय स्वास्थ्य सेवाका लागि सुविधासम्पन्न अस्पताल स्थापना आवश्यक देखिन्छ, यहाँको योजना के छ ?
–आर्थिक अभावका कारण नगरवासीले स्वास्थ्य उपचारबाट बन्चित हुने अवस्था नआओस् भन्ने चाहना छ । त्यसका लागि स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन गरिने छ । वडास्तरमा नगर स्वास्थ्य क्लिनिक सञ्चालन गरी प्राथमिक उपचार, खोप सेवा,पोषण सेवा, प्रजनन् स्वास्थ्य सेवा, मातृशिशु स्वास्थ्य सेवा, गर्भवती महिला स्वास्थ्य परीक्षण, बाल स्वास्थ्य सेवा उपलब्ध गराइने छ । लुम्बिनी अञ्चल अस्पताल, सिद्घार्थ महिला तथा बाल अस्पताल र गौतम बुद्व सामुदायिक मुटु अस्पतालको क्षमता अभिवृद्धि गरी आमजनताको स्वास्थ्योपचारलाई सुनिश्चित गर्नुका साथै विशेषज्ञ सेवाको दायरा विस्तार गरिने छ । लुम्बिनी अञ्चल अस्पताललाई प्रादेशिक स्तरको अस्पतालका रूपमा विकास गर्नुका साथै, उपचारमा नागरिकको पहुँचलाई सहज र सरल तुल्याउन प्रयास गरिने छ । वृद्घवृद्घा बिरामीको स्याहार सुसार गर्न हस्पिक केयर सेन्टरको स्थापना र ज्येष्ठ नागरिकको स्वास्थ्योपचारका लागि जेरियाटिक हस्पिटलको स्थापना हाम्रो प्राथमिकतामा छन् । विभिन्न स्थानमा हेल्थ क्लब तथा योगशाला सञ्चालन, आयुर्वे्दिक एवं प्राकृतिक चिकित्सा पद्घतिको प्रबद्र्घन, नगरभित्रका अस्पतालमा तत्काल बिरामी पु¥याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा, महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रभावकारी बनाउन र ट्रमा सेन्टर स्थापना गर्न बुटवलमा एमालेको नेतृत्व आवश्यक छ ।
प्रकाशित मिति: शनिबार, असार ३, २०७४