काठमाडौँ -सार्वजनिक लेखा समितिले ओम्नी कम्पनीले जिम्मा पाएको मेडिकल सामग्री खरिद प्रकरणको थप छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । सार्वजनिक लेखा समितिले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको ठहर गर्दै अनुसन्धान गर्न निर्देशन दिएको हो ।
शुक्रबार बसेको समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यमन्त्री भानुभक्त ढकाललाई बोलाएर छलफल गरेपछि लेखा समितिले यस्तो निर्णय गरेको हो । स्वास्थ्यमन्त्री ढकाल र सांसदहरुको छलफलपछि समितिले सो प्रकरणलाई थप छानविनका लागि अख्तियारलाई निर्देशन दिएको हो।
समितिले सामाग्री खरिदमा प्रचलित कानुन र प्रक्रिया मिचेको भनेको छ। समितिले बजारमा तोकिएको भन्दा बढी मूल्यमा खरिद गरी भ्रष्टाचार भएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप अनुसन्धान गरि मुद्दा चलाउन पनि निर्देशन दिएको छ।
समितिले सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत खरिद प्रक्रियामा त्रुटि रहेको बताएको र महँगो मूल्यमा सामान किन्न जिम्मेवारी दिइएको र सामानमा गुणस्तर समेत नभएको भन्दै स्वास्थ्य सेवा विभागले नै खरिद प्रक्रिया रद्द गरेको अवस्थामा यसमा थप छानविन गर्नुपर्ने आवश्यकता रहेको निष्कर्ष निकालिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७