काठमाडौँ -अमेरिकामा बुधबार एकैदिन २ लाख ५० हजार जनामा संक्रमण देखिएको छ । कोराना भाइरस महामारी सुरु भएयता एकैदिन यति ठूलो संख्यामा यसअघि कहिल्यै संक्रमित भेटिएका थिएनन् । त्यस्तै, बुधबार एकैदिन ३ हजार ७ सयको मृत्यु भएको छ । महामारी सुरु भएयता एकैदिन यति ठूलो संख्यामा यसअघि कसैको मृत्यु भएको थिएन ।
यससँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख ७ हजार २ सय ९१ पुुगेको छ । स्वास्थ तथा मानव सेवा विभागका अनुसार अहिले १ लाख १३ हजार मानिसहरु कोरोनाकै कारण अस्पतालमा छन् । यो पनि अहिलेसम्मकै उच्च संख्या हो । अमेरिकामा कुल संक्रमितको संख्या १ करोड ७३ लाख ९४ हजार नाघिसकेको छ ।
अमेरिकाले भाइरस नियन्त्रणका लागि आपतकालिन रुपमा प्रयोग गर्न फाइजर कम्पनीको खोपलाई अनुमति दिइसकेको छ । त्यस्तै, मोडर्ना कम्पनीको खोपले पनि अनुमतिका लागि निवेदन दिएको छ । बिहीबार औषधी तथा खाद्य विभागका खोप विज्ञहरुले भेला भएर मोर्डनाको खोपको प्रभावकारीताबारे बहस गर्ने कार्यक्रम छ । संक्रमितको संख्या बढ्दै गएकाले अधिकारीहरुले फास्ट ट्रयाकबाट यसलाई अनुमति दिने विषयमा छलफल गर्दैछन् ।
सिएनएनका अनुसार फाइजरको भ्याक्सिनलाई जति चाडों स्विकृति दिइएको थियो, त्यसभन्दा पनि छोटो समयमै मोर्डनाको भ्याक्सिनलाई प्रयोगको स्विकृति दिनेगरी अधिकारीहरुले प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ ।
विश्वभर ७ करोड ४५ लाखभन्दा धेरै जनसंख्यामा कोरोना भाइरस संक्रमण पुुष्टि भएको छ, ५६ हजारभन्दा धेरैको संक्रमणकै कारण मृत्यु भएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २, २०७७