नयाँ दिल्ली-आगामी वर्ष हुने तमिलनाडू विधानसभा निर्वाचनमा होमिन लागेको मक्कल निधि मय्यम(एमएनएम) पार्टीको चुनावी अभियानमा होमिनु अघि अभिनेता कमल हसनले भारतका प्रधानमन्त्री नरेन्द्री मोदीमाथि प्रश्न उठाएका छन्।
मोदीले भारतको नयाँ संसद भवनको शिल्यान्यास गरेपछि देश कठिन समयसँग जुधिरहेको अवस्थामा ठूलो लगानीमा संसद भवन बनाउने आवश्यक्ता के थियो भनेर हसनले प्रश्न गरेका छन्।
'कोरोना भाइरसका कारण देशको आधा आवादी भोको छ, मानिसहरूले जीविका गुमाइरहेका छन्, १००० करोडको नयाँ संसद भवन किन?', ट्विटमा उनले सोधेका छन्, 'जब चीनमा ग्रेट वाल बनाइंदै थियो, हजारौं मानिसहरूको मृत्यु भएको थियो। त्यो समय शासकले यो मानिसहरूको रक्षाका लागि हो भनेका थिए। तपाईं कसको रक्षाका लागि १००० करोड रूपैयाँमा संसद निर्माण गर्दै हुनुहुन्छ? मेरो माननीय निर्वाचित प्रधानमन्त्रीले जवाफ दिनुस्।'
मोदीले नोभेम्बर १० मा नयाँ संसद भवनको शिलान्यास गरेका थिए। बन्न लागेको यो नयाँ संसद भवन २० हजार करोड भारूमा बन्ने सेन्ट्रल भिस्टा आयोजनाको एक महत्वपूर्ण हिस्सा हो।
यस अन्तरगत राष्ट्रपति भवनबाट इण्डिया गेटसम्म १३.४ किलोमिटर लामो राजपथमा पर्ने सरकारी भवनहरूको पुनः निर्माण वा मर्मत हुनेछ।
नयाँ बन्न लागेको चार तले संसद भवन ६४ हजार ५ सय स्क्वायर मिटरमा फैलिनेछ भने यसका लागि ९ सय ७१ करोड भारू खर्च हुनेछ। भवन सन् २०२२ को अगस्टसम्म पूरा हुने अनुमान गरिएको छ।
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७