काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले आजबाट देशव्यापी रुपमा सरकारविरुद्ध प्रदर्शन गर्दैछ । सरकारका गलत गतिविधिका विरुद्ध काँग्रेसले प्रदर्शन गर्न लागेको हो ।
२०७४ को आम निर्वाचनमा वाम गठबन्धन झण्डै दुई तिहाइ मतका साथ विजयी भएसँगै संसदमा प्रमुख प्रतिपक्षका रुपमा काँग्रेस निकै सानो आकारमा खुम्चियो । यो चोटलाई कांग्रेसले अझै भुल्न सकेको छैन।
पछिल्लो समय सरकारका गतिबिधि पनि त्यति नै खल्लो अनि निरासाबादी देखिन्छ। जनताप्रति उत्तरदायी हुनुपर्ने सरकार आफ्नै पार्टीको गुट उपगुटको चक्करमा फसेको छ। लामो समय सडक संघर्षबाट टाढा रहेको नेपाली काँग्रेसले परिस्थितिको यिनै गम्भीरतालाई मनन् गरेर एकाएक सडकमा ओर्लने निर्णय गरेको हो । तर कांग्रेसको यो निर्णयले सरकार साच्चिकै सच्चिन्छ भन्ने आधार छैन।
आन्दोलनको बिकल्प नभएरनै कांग्रेसले आन्दोलन गर्न लागेको नेताहरु बताउछन् । तर सत्तारुढ दलले आफ्नो अस्तीत्वरक्षाको लागि मात्र आन्दोलनको सहारा लिएको बताएको छ।
प्रतिपक्ष हो,अलिअलि बोल्दै गर्दछन्,भन्दै गर्छन् यसले केही फरक पर्दैन’ भनेर सरकारले आफ्नो पार्टी व्यवस्थापनमा मात्र ध्यान दिएको कांग्रेसको आरोप छ । सरकारकै गैरजिम्मेवारीपनका कारण काँग्रेस सडकमा उत्रिनुपर्ने अवस्था निम्तिएको कांग्रेसले बताएको छ।
पछिल्लो समय नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार गरेपछि कांग्रेसलाई आगोमा घिउ थपे झैँ भयो। बिरोध स्वरुप बिभिन्न जिल्लामा नाराबाजी गरियो। आजको आन्दोलनलाई यो बिषय पनि थपियो।
काम गर्न नजान्ने सरकार अनि कतिबेला के निउ पाउ भनेर बसेको प्रतिपक्षी जसको प्रत्यक्ष मारमा परेका छन् जनता। त्यसैमाथि राजाबादीले पनि सरकारको बिरोधमा आन्दोलन शुरु गरेपछि अझै बुलन्द रुपमा कांग्रेसले आन्दोलनको रट लगायो।
सरकारले आफ्नो गल्ती नसच्याए काँग्रेसले आन्दोलनलाई निरन्तरता दिने रणनीति बनाएको छ । निर्बाचनबाट जनताले अहिलेको सरकारलाई काम गर्ने जिम्मेवारी दिएपनि उनीहरुले इमानदार भएर काम गर्न नसकेको आरोप लागेको छ।
सोमबार विरोध प्रदर्शनका क्रममा ७७ वटै जिल्लामा जुलुस र छोटो सभा पनि हुने कार्यक्रम छ। सरकारलाई जनताको मर्म भावना र लोकतान्त्रिक मुल्य मान्यताका आधारमा अघि बढ्न दवाव दिने र सरकारले आनाकानी गर्ने आन्दोलन जारि रहने कांग्रेसको निष्कर्ष छ।
आजको आन्दोलनलाई कतिपयले साथ् दिएका छन। कतिपयले भने यस्तो विषम परिस्थितिमा जनतालाई उत्तेजित बनाउनु कांग्रेसको गलत निर्णय बताएका छन । कोरोनाले सिकिस्त भएको विश्व अनि त्यसैको प्रभावबाट आक्रान्त बनेको नेपाल अहिले आन्दोलन सहन सक्ने अवस्थामा छैन।
प्रतिपक्षीको भूमिका सरकारलाई नैतिक दवाव दिने कि जनतालाई उत्तेजित्त बनाउने ? आन्दोलनको लागि अहिले अनुकुल समय हैन यो कुरा कांग्रेसले बुझेको छ तर गलत निर्णयलाई रणनीति बनाएर अघि बढ्ने फैसलाले भोली आफु स्वयमलाई असर गर्छ भनें हेक्का नभएकै हो त ?
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७