प्रहरी जवान संगीत तर्फको परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। सुर्खेतको वीरेन्द्रनगरमा रहेको लोक सेवा आयोगका कार्यालयमा सञ्चालन भएको उक्त परीक्षामा सहभागी भएका ७ जना नक्कली परीक्षार्थी र त्यसको व्यवस्थापन मिलाउने एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
बुधबार १ बजेदेखि ३ बजेसम्म सञ्चालन भएको लिखित परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
पक्राउ पर्नेहरुमा दैलेखको भगवतीमाई गाउँपालिका–७ का २३ बर्षीय तिलक विक, सोही ठाउँका दीपेन्द्र विका, गुराँस गाउँपालिका–२ का रामबहादुर कार्की, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ का याम पौडेल, दैलेखको चामुण्डाविन्द्रासैन नगरपालिका–५ का रमेश प्रसाद न्यौपाने, सुर्खेतका पञ्चपुरी नगरपालिका–२ का उत्तम विसी, पञ्चपुरी नगरपालिका–१ का रुद्र प्रसाद शर्मा रहेका छन् ।
यस्तै उनीहरुलाई नक्कली परीक्षार्थीको रुपमा व्यवस्था मिलाईदिने पञ्चपुरी नगरपालिका–२ का दीपक कँडेललाई पनि पक्राउ गरिएको छ ।
पक्राउ परेकाहरु ती नक्कली परीक्षार्थीले दैलेखको भगवतीमाई गाउँपालिका–७ का कमल विक, चक्रराज विक, गुराँस गाउँपालिका–२ का रण बहादुर रावल, जाजरकोटको भेरी नगरपालिका–१० का धनबहादुर डाँगी, दैलेखको नारायण नगरपालिका–७ का चन्द्र बहादुर राना, सुर्खेतको पञ्चपुरी–२ का यज्ञ विसी, बर्दीयाको राजापुुर नगगरपालिका–१० का अर्जुन सुनारको ठाउँमा परीक्षा दिन थालेका थिए ।
मंसिर २० गतेदेखि सञ्चालन भईरहेको प्राविधिक प्रहरी जवान संगीततर्फको परीक्षामा हालसम्म ११ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७