काठमाडौँ -अमेरिकी मिडियाको खबर अनुसार नव निर्वाचित जो बाइडेनले अवकाशप्राप्त जनरल लोयड अस्टिनलाई रक्षामन्त्रीको रुपमा चुनेका छन् ।
६७ वर्षका जनरल अस्टिन यो पदमा नियुक्त भएका पहिलो अफ्रिकी–अमेरिकी हुनेछन् । ओबामा सरकार हुँदा उनले अमेरिकी सेन्ट्रल कमान्डको नेतृत्व गरेका थिए । यद्यपि, उनको नाममा संसदको स्विकारोक्ति पनि आवश्यक छ किनभने उनले अवकाश लिएको सात वर्षभन्दा पनि कम समय छ ।
बाइडेनको यो निर्णय उनको राष्ट्रिय सुरक्षा समूहका वरिष्ठ सदस्यको नामको घोषणा भएको दुई हप्तापछि आएको छ ।
बाइडेन र जनरल अस्टिनले यो मामिलामा अहिले सम्म कुनै सार्वजनिक बयान दिएका छैनन् । सुरुमा बाइडेनले वरिष्ठ पेन्टागन अधिकारी मिशेल फ्लोरनोयलाई यो पदका लागि चयन गर्ने खबर प्रकाशित भएको थियो । यदि यस्तो हुने हो भने उनी यो पदमा नियुक्त हुने पहिलो महिला हुने थिइन् ।
बाइडेनले २० जनवरीमा राष्ट्रपति पदको शपथ लिने तयारीमा छन् । राष्ट्रपति ट्रम्पले अहिलेसम्म पनि आफ्नो हार स्विकारेका छैनन् र प्रमाण पेश नगरीकनै चुनावमा धाँधली भएको दाबी गरिरहेका छन् ।
को हुन् जनरल अस्टिन ?
पोलिटिकोलेले सबैभन्दा पहिला बाइडेनको यो निर्णयको खबर प्रकाशित गरेका थिए । पोलिटिकोले यो निर्णयबारे थाहा पाउने तीन व्यक्तिको नाम पनि बताएका थिए ।
पोलिटिकोको खबर अनुसार सुरुमा जनरल अस्टिनको उम्मेद्वारी निकै टाढा जस्तो लाग्थ्यो तर हालका दिनमा उनी शीर्ष उम्मेद्वारको रुपमा देखिएका छन् र एक सुरक्षित नामको रुपमा पनि ।
बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्यूजले थुप्रैलाई उद्धृत गर्दै जनरल अस्टिनको नाम सिफारिस गरिएको बताएको छ ।
सीबीएसका अनुसार जनरल अस्टिनको नाम नागरिक अधिकार संगठन र डेमोक्रेटिक एशियाली, ब्ल्याक र ल्याटिन कक्सका कारण अगाडि आएको हो जसले बाइडेनले अल्पसंख्यक र महिलालाई मन्त्रीमण्डलमा समावेश गरुन् भन्ने चाहन्छन् ।
यसैबीच सीएनएनले स्रोतलाई उद्धृत गर्दै बाइडेनले हप्ताको अन्त्यतिर जनरललाई यो पदको प्रस्ताव दिएका हुन् जसलाई उनले स्विकारेका छन् । जनरल अस्टिनले सन् २०१३–१६ सम्म अमेरिकाको सेन्ट्रल कमान्डलाई सम्हालेका छन् जसको जिम्मेवारी मध्य–पूर्व, मध्य एसिया र दक्षिण एशिया हो ।
यसअघि उनी सेनाका भाइस–चीफ अफ स्टाफ थिए र इराकमा अमेरिकी सेनाका कमान्डिङ जनरल । यी वर्षमा उनले बाइडेनसँग निकै काम गरेका छन् जब बाइडेन ओबामा सरकारमा उप–राष्ट्रपति थिए ।
तर सीबीएसका अनुसार जनरल अस्टिनका अगाडि केही समस्या पनि छन् किनभने उनी अहिलेसम्म डिफेन्स कन्ट्र्याक्टर रेयथोनमा बोर्ड अफ डायरेक्टर्सका सदस्य हुन् । – बीबीसी
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७