पुर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर अमेरिकामा मात्र लोकप्रिय छैनन् । संसारभर उनका प्रसंशक भेटिन्छन । बिशेष गरि उनको समाजसेवा प्रतिको रुचि र उत्तरदायित्व पुरा गर्ने क्षमताको सबैले खुलेर प्रसंसा गर्ने गर्दछन ।
जिम्मी कार्टर भन्ने बित्तिकै नेपालसंग पनि उनको सम्बन्धको कुरा आउछ । नेपाल र जिम्मीबीच गहिरो सम्बन्ध छ । नेपाललाई अप्ठेरो परेको बेला उनको कार्टर सेन्टर नामक संस्थाबाट राम्रै सहयोग मिलेको थियो । कार्टर सेन्टर नामक गैरसरकारी संस्थाबाट उनले पुर्याएको योगदानको तारिफ गर्दै २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । नेपालको राजनीति प्रति बिशेष चासो राख्ने उनि नेपालमा हुने बिशेष समयमा आउने गर्दछन ।
जिम्मी कार्टरबाट नेपालका नेताहरुले केहि सिक्ने कि ?
अमेरिका आफैमा सम्पन्न देश अनि जिम्मी कार्टर आफैमा सम्पन्न व्यक्ति । विलासिताको सम्पूर्ण हद पार गर्न सक्ने क्षमता छ उनमा तर पनि उनले सामान्य जीवनशैली अपनाएर विश्वलाई सामान्य खुशीमा रमाउनुपर्ने सिक दिएका छन । उनि आफ्नो काम आफै गर्छन खाना बनाउछन लुगा धुन्छन सामान्य घरमा बस्छन सामान्य जीवनशैली बाच्छन् । समाजसेवामा रमाउछन ।
नेपाल आफैमा गरिब देश । बिकासको पथतिर लम्किदै गर्दा यहाको नेताहरु भने जनता मारेर विलासिताको सम्पूर्ण हद पार गर्छन । पानि पर्दा सुरक्षाकर्मीलाई भिजाएर आफुलाई छाता ओड्न लगाउछन । खोला तर्दा सुरक्षाकर्मीले बोकेर तारिदिन्छन । आफ्नो घरको बाहिर आफ्ना आफन्तले खोलेका जुत्ता चप्पल टिपेर ठेगान लगाउन सुरक्षाकर्मीलाई आदेश दिन्छन ।
ठुला ठुला सपना जनतालाई बाडेर आफु सत्तामा पुग्छन । अनि जनतालाई सित्तैमा देखाएको सपनाको मूल्य माग्छन । आवश्यकता भन्दा निकै माथिको हैसियत बनाएर त्यही जनतालाई घडी हेरी हेरी पसिना बगाउन लगाउछन अनि त्यही पसिना बेचेर सपनाको मूल्य चुक्ता गरिदिन्छन ।नेपालका सबै नेताको पृष्ठभुमि झुपडीबाट सुरु भएर महलमा पुगेर अन्त्य भएको छ ।
सर्बहारा बर्गको नेतृत्व गर्दै उदाएका कम्युनिष्ट हुन् वा जनतालाई नै मालिक बनाउछु भनेर लागेका कांग्रेस लगायतका प्रजनात्रबदी हौ भन्न रुचाउने अरु पार्टी । सबैको अन्तिम बिन्दु भनेको जनताको शोषण गर्नु नै हो । हरेक कालखण्डमा एक पार्टीबाट बितृष्णा भएर जन्मेको अर्को पार्टी होस् वा नेता सबैले सताउने भनेका निमुखा जनता नै हुन् ।
लामो समय जंगलमा बसेर द्वन्द गरेको पार्टीका सबै नेताको राजधानीमा ठुला ठुला महल छन् । लामो समय जेल बसेका अनि आज सम्म राजनीति भन्दा बाहेक अर्को काम नगरेका नेताको पनि भव्य महल छ । महलबाट राजनीति सुरु गरेकाहरुले त झुपडीमा गएर आफ्नो जीवन बिताउने कुरै भएन किनकि त्यति महान हुने नेपाली नेताको पृष्ठभुमि नेपालमा छैन भन्दा पनि हुन्छ ।
आफ्नो सच्चा हैसियतमा मात्र रहे भने पनि आफ्नो नेतृत्वकर्ता देखि नेपाली जनताले गर्व गर्ने थिए । राजनैतीक जीवन पछि सामान्य जीवन बाची समाजसेवामा रमाउने जिम्मी अनि राजनैतीक जीवन समाप्त भएपछी सरकारी सुबिधाको माग गर्दै अनसननै बस्ने नेपाली नेता,सामान्य जीवनशैली बाचेर नेताबाट जनता बनेका जिम्मी अनि विलासिताको जीवन बाचेर जनताबाट नेता भएका र नेतै भएर मर्न खोज्ने नेपालका शासक बीच आकाश र पातालको फरक छ । जिम्मी कार्टरले आफ्नो कार्यकालमा शान्ति स्थापना र मानवअधिकारको रक्षाको लागि महत्वपूर्ण भूमिका खेले । यसलाई नै उनले आफ्नो कार्यकालको सबैभन्दा उल्लेख्य उपलब्धि मानेका छन् । जनताको सुरक्षा ,अधिकारको बारेमा सोच्ने अनि सामान्य नागरिक सरह जीवन बाच्ने जिम्मीबाट राजसी शानले बाचेका नेपाली नेताहरुले केहि सिक्ने कि ?
कार्टरबाट नेपालका क्रिश्चियनहरुले केहि सिक्ने कि ?
जिम्मी कार्टर आफुलाई परमेश्वर अथवा येशु ख्रिस्टको आराधक मान्छन । उनले भनेका छन्-म येशू ख्रीष्टको आराधना गर्दछु जसलाई हामी ख्रीष्टियानहरू शान्तिको राजकुमार मान्छौँ । यहूदीको रूपमा उहाँले हामीलाई सेवा र प्रेममा धार्मिक सीमानाहरू पार गर्न सिकाउनुभयो । उहाँले पटक–पटक हाम्रा रोमी विजेताहरू,अरू अन्यजातिहरू र अति तिरस्कृत सामरीहरूलाई भेट गरी तिनीहरूलाई अङ्गाल्नुभयो । ईश्वरशास्त्रीय भिन्नताहरूका बाबजुद पनि सबै महान् धर्महरूले उही साझा प्रतिबद्धताहरू जाहेर गर्छन् जसले आदर्श सेकुलर सम्बन्धलाई परिभाषित गर्दछन् ।
दु:खकष्टलाई कम गरी शान्तिलाई अपनाउने साझा प्रयासमा मुसलमान, बौद्ध मार्गी, हिन्दु, यहूदीसाथै अन्यले एक अर्कालाई अङ्गालो हाल्न सक्छन् भनी म विश्वस्त छु । युद्ध कहिलेकाहीँ आवश्यक दुष्टयाइँ हुन सक्छ । तर यो जतिसुकै आवश्यक भए तापनि यो सधैँ दुष्ट नै हो र यो कहिल्यै असल कुरो होइन । एक अर्काका सन्तानलाई मारेर हामीले सँगसँगै शान्तिमा कसरी जिउने भनी सिक्न सक्नेछैनौँ । हाम्रो साझा मानवताको सम्बन्ध हाम्रा डर र पूर्वाग्रहको विभाजनभन्दा शक्तिशाली छ । परमेश्वरले हामीलाई छनौट गर्ने क्षमता दिनुहुन्छ । हामी दु:खकष्टलाई कम गर्ने छनौट गर्न सक्छौँ । हामी शान्तिको लागि सँगसँगै मिलेर काम गर्ने छनौट गर्न सक्छौँ । हामी यी परिवर्तनहरू ल्याउन सक्छौँ र हामीले ल्याउनैपर्छ ।
येशुका सच्चा भक्त नेपाल आएको बेला हिन्दुहरुले सबै भन्दा उच्च स्थानमा राखेर आराधना गर्ने मन्दिर पशुपतिलाई श्रद्धाले शीर झुकाउछन । तर नेपालमा नया नौला परमेश्वरका भक्त जो पहिला हिन्दु अर्थात् बुद्ध धर्म मान्थे मन्दिर र गुम्बा पुज्थे अहिले उनै भगवानलाई सैतान र मन्दिर गुम्बा लगायतका धार्मिक स्थललाई सैतान बस्ने घरको संज्ञा दिन्छन । उनले सबै धर्मलाई आफ्नो आफ्नो कोणबाट सत्य बताएका छन् । धर्मको एक सच्चा अनुयायी, आराधकको बिशेषता यहि हो जुन जिम्मीमा छ |
जिम्मी कार्टरको जीवनशैली
सामान्य जीवनशैली बाच्न मन पराउने जिम्मी कार्टर अमेरिकाका ३९ औं राष्ट्रपति हुन् । कुनैबेला उनलाई सेतोमहल पनि भन्ने गरिन्थ्यो किनकि उनी तला तला भएको महलमा बस्थे । जुन बेला उनको जीवनको उर्वर समय चलिरहेको थियो । हुन त आज पनि उनको जीवन उर्वरनै छ । तर अहिले पछिल्लो समय उनि आफुले नै बनाएको सामान्य घरमा बस्छन । उनको गाउँ जर्जियामा भएको घरको मूल्य १६७००० डलर छ जसको मूल्य अमोर्ड सेक्रेट सर्भिस अगाडी पार्क गरेको बसको भन्दा पनि कम हो ।
जीवनको उत्तरार्धमा सरकारी खर्चमा मस्ती गर्ने,एकपटक राष्ट्रपति भैसकेपछि जीवनभर सरकारले छुट्टाएर दिएको मानो खानेहरुले पनि जिम्मी बाट केहि सिक्न जरुरि छ । नेपालका नेता मात्र हैन विश्वका हरेक नेताले जिम्मीबाट यो सिक्न जरुरि छ कि आफुले चलाउन सकुन्जेल जीवन आफ्नै तरिकाले बाच्नुपर्छ ।
कार्टर एक उदाहरण हुन् जो सच्चा जनताका सेवक हुन् । यस्ता धेरै सेवक छन् विश्वमा जसलाई अनुशरण गर्न आवश्यक छ तर नेपालका नेता राम्रा कुरा अनुशरण गर्दैनन् त्यो बानी नै छैन यहाँ । नेता जेल बसेको अनि जंगल पसेको समयको मूल्य तिरेका छौं हामी जनताले हिजो पनि,आज पनि सायद भोलि पनि त्यहि गर्नुपर्नेछ ।
सपना देखाउछन अनि त्यो सपना देखाएको पनि मूल्य तिर्नुपर्छ हामीले । बाद र प्रतिबादमा नेपाली राजनीतिको लामो समय खेर गैसकेको छ तर पनि उपलब्धि लगभग शुन्य छ। यति हुँदा पनि नेता म राम्रो छु भन्न लजाउदैनन अनि जनता यो राम्रो छ भन्न पछि पर्दैनन्। विश्वका हरेक नेताको बाद भित्रिएको छ नेपालमा तर अनुशरण भन्ने कुरा हुँदै हुदैन।
सिक्नुपर्ने बाट केहि सिक्दैनन् । आफ्नो स्वार्थको लागि समानान्तर रेखा जस्ता दुइबाद कसरि -कसरि एकै ठाउँ आइपुग्छन । दुइ ध्रुव जोडिने कोशिस गर्छन । हामी जनतामा चेतना छ तर व्यक्ति र पार्टीभन्दा माथि उठेर देशको लागि बोल्ने कुनै आट छैन । प्रसंशाका भोका नेता जति खाएपनि,जति लुटेपनि लाज नमानी मैले यसो गरे,उसो गरे भनेर भन्न छोड्ने हैनन्।
राम्रो सबै आफुले र आफ्नो पार्टीले,नराम्रो सबै बिपक्षीले भनेर दोषारोपण गर्ने प्रवृति आजको हैन सदियौ पहिलेको हो जो आजपनि निरन्तर चलिरहेको छ र कालान्तरसम्म चल्नेछ। चुनावका बेला कांग्रेसले बिपी अनि कम्युनिष्टले मदनको फोटो देखाउने बाहेक नेपालका नेताले जानेका र गरेका केहि छैनन्।
निर्दोष संबिधानमाथि पटक-पटक प्रहार,निर्दोष जनतामाथि पटक -पटक प्रहार गरेर फेरी आफु नै निर्दोष बन्न नेपालका नेताबाट सिक्नुपर्छ। इमान्दारिता र नैतिकता भन्ने कुरा झुटमा मात्र हुन्छ। जब झुट बोल्छन नेपालका नेता त्यहाँ इमान्दारिता प्रष्ट हुन्छ ,इमान्दारिताका साथ् झुट बोल्छन।
नेपालमा बाच्नका लागि नेपाली मात्र भएर पुग्दैन । कहिले कांग्रेस,कहिले कम्युनिष्ट,कहिले राजाबादी,कहिले मधेसबादी लगायत धेरै बन्नुपर्छ। नेपालका नेताले दिएको देन यहि हो नेपाली भएर बाच्न भुल तिमीहरु नेपाली भयौ भने हामीले राजनीति कसका लागि गर्ने ? यहि प्रश्नको उत्तर लुकाउन सधै प्रयासमा छन् नेपालका नेताहरु। सिक्नुपर्ने कुरा सिक तर हामीमाथि अनावश्यक एजेन्डा नथुपार।।
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७