बुखारेस्ट- रोमानियाको मुख्य विपक्षी दल सोसल डेमोक्रेटिक पार्टी (पिएसडी) ले संसदको आमनिर्वाचनमा झिनो अग्रता कायम गरेको छ। करिब ९८ प्रतिशत मतगणना भइसक्दा पिएसडीले ३१ प्रतिशत मत प्राप्त गरेको छ।
निर्वाचन आयोगका अनुसार पूर्वअनुमान विपरीत सत्तारुढ दल नेसनल लिबरल पार्टी (एनएलपी)ले २६ प्रतिशत मतसहित दोस्रो स्थानमा पुगेको छ।
संसदमा उपस्थिति जनाउन आवश्यक पर्ने ५ प्रतिशतको मतसीमा तीनवटा दलले प्राप्त गरेका छन्। प्राप्त विवरणअनुसार युएसआर–प्लस गठबन्धनले १५ प्रतिशत, अलायन्स फर युनिटी अफ रोमानियन्स (एयुआर) ले ९ प्रतिशत तथा डेमोक्रेटिक युनियन रोमानीयाले ६ प्रतिशत मत पाएका छन्।
चुनावअघि गरिएका धेरैजसो मतसर्वेक्षणको प्रक्षेपणलाई गलत सावित गर्दै चुनावमा भिन्न नतिजा प्राप्त भएको छ। राष्ट्रवादी नारा दिएर गत वर्षमात्र गठन भएको युएसआर–प्लसले आश्चर्य चकित पार्दै संसदमा सम्मानजनक उपस्थिति जनाएको छ।
कोरोना भाइरस महामारीकै बीचमा सम्पन्न यस चुनावमा ७ हजार १३६ जना चुनावी मैदानमा उत्रिएका थिए। रोमानीयामा १ करोड ८० लाख मतदाता थिए। तर चुनावमा ३१.८४ प्रतिशतमात्र मतदान भएको थियो, र यो विगत ३० वर्षमै सबैभन्दा कम मतदान हो।
चुनावी पछिल्लो मतपरिणामले संसदमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेका छैनन्। त्यसैले आगामी सरकार गठबन्धन स्वरुपको हुनेमा कुनै शंका छैन।
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७