बिहे भएको महिना दिनमै सिन्दुर पुछिएकी महिला,जो यो समाज र परिवार भनेर छ बर्षसम्म एक्लै बसिन् । स्वर्गीय पतिकै नाममा उनले आफुलाई समर्पित गराइन। अबिबाहित भएर समाजमा बस्न र संघर्ष गर्न गाह्रो नहोला तर कसैको बिधवा भएर समाजमा हिड्न सार्है गाह्रो हुन्छ,यो कुरा श्रीकृष्णकी श्वेताले बुझिन।
संघर्षदेखि हार मान्ने त्यति कम्जोर मुटु भएकी हैनन् उनि तर परिवार उनको कारणले कमजोर भएको उनले देख्न सकिनन् । एकल महिलालाई पनि यो समाजमा उतिकै स्थान छ,स्थान बनाउन पनि सकिन्छ,त्यो स्थान बनाउदा जुन संघर्ष गर्नुपर्छ त्यो पीडाले श्वेताको परिवारलाई पोलेको छ दुखेको छ यहि बुझेर होला सायद उनले आफुलाई नयाँ बाटो रोज्न र हिड्न सक्ने बनाइन ।
सबै बाटो सजिलो हुन्छ भन्ने छैन,अनि सबै अप्ठेरो बाटो हिड्न साथी चाहिन्छ भन्ने पनि छैन तर यात्रा सरल बनाउन कसैको साथ खोज्नु गलत हैन। सत्ता बदलियो,समय बदलियो तर अझैपनि हाम्रो मानसिकता जहाको त्यहि छ। महिलाको अस्तीत्वलाई स्वीकार गर्न नसक्ने केहि मान्छेकै कारण आजपनि महिलाहरु खुलेर जिउन पाइरहेका छैनन्। यहि मानसिकताको एउटा उपजको रुपमा रह्यो श्वेताको बिहे पनि।
श्रीकृष्णको परिवार खुशी छन,श्वेताको परिवार खुशी छन अनि स्वयम् श्वेता खुशी छिन भने सामाजिक संजालमा उनी बिरुद्ध अश्लील अनि निच प्रतिक्रियाको ओहिरो किन ? श्वेताको बिगतलाई सहर्ष स्वीकार गरि अघि बढ्न खोज्ने ति पुरुष प्रति पनि सम्मान गर्न सक्दैनन् आजका केहि पुरुष।
श्वेता खड्का श्रीकृष्ण श्रेष्ठकि पत्नी मात्र नभएर उनको आफ्नै अस्तीत्व पनि छ। उनले भनेकी पनि थिईन म सधै श्रीकै भएर बस्न चाहन्छु। तर समय परिस्थिति सधै एक जस्तो हुँदैन उनले नयाँ जीवन रोजिन । नयाँ मान्छे रोज्दैमा,नयाँ सम्बन्ध जोड्दैमा पुरानो सम्बन्ध भुल्ने भन्ने पनि त हुँदैन।
श्रीकृष्ण श्रेष्ठको निधन पछि करिव छ बर्ष उनले एक्लै बिताइन। अन्तत परिवारको दवाव र आफुलाई जीवन साथीको अभाव महसुश गर्दै उनले बिवाह गर्ने निर्णय गरिन।
समाजमा बिधवा नारीले बिवाह गर्न हुदैन भने तल्लो स्तरका सोच बोकेका केहि मानिसले उनको यो निर्णयलाई श्रीकृष्ण श्रेष्ठको अपमान सम्झिएर उनलाई गाली दिईरहेका छन्। यस्तै गाली सहन नसकेर उनले आफ्ना मनका बह फेसबुकमा पोखेकी छन्।
उनले लेखेकी छन -"मलाई थाहा छ 'श्वेताको आँखामा आँशु मात्रै देखिनु पर्छ' भन्ने सोच बोकेका दुईचारजना ब्यक्तिहरुलाई मेरो यो निर्णयले पोल्नेछ । श्रीमती स्वर्गिय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी बिधुवी बहिनीले पुरै जीवन एक्लै काट्नु पर्छ भन्ने सोचले ग्रस्त केही ब्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ । तर म प्रति सहानुभूति ] राख्ने, मलाई सदैव खुशी देख्न चाहने अनी संधै मेरो सफलताको कामना गर्ने लाखौं शुभचिन्तकहरुको आशिर्वाद, सदभाव र सुवेक्षाले म प्रती रिस र इर्ष्याको सोच राख्ने दुईचार जनाले स्वत: हार खानेछन् ।"
केहि समय देखि उनको विवाहको चर्चा नचलेको हैन तर उनले यसलाई स्वीकार गरेकी थिईनन। अन्तत फेसबुक बाट आफुलाई नयाँ जीवनमा लान लागेको सार्बजनिक गरिन। उनको यो निर्णयबाट सबै खुशी छन् तर यो समाजमा महिलालाई जहिले पनि दोस्रो दर्जामा राख्नुपर्छ भन्ने सोच बोकेकालाई उनको निर्णयले अत्यन्त दुखि बनायो ।
सामाजिक संजालमा यति नमिठो अनि मुटु पोल्ने प्रतिक्रिया आयो त्यो देख्दा लाग्छ आज पनि समाज जहाको त्यहि छ। आज पनि समाजका केहि मान्छे छोरी चेलीलाई साधन सम्झने रहेछन भन्ने पुष्टि हुन्छ।
श्वेता लेख्छिन-"मेरो एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैषीहरुले एउटा जीवन साथी खोज्नको लागि नसुझाएका पनि होइनन् तर एक पटक पुछिएको सिउँदोमाथी पुन: सिन्दुर भर्न आँट गर्ने कुनै निस्वार्थी हातहरु पाईन्छ र ? फुटेको चुरासंगै चक्नाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र ? अनी विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुन: फर्काएर मेरो जीवनमा खुशीको रङ्ग भरिदिने कुनै दयालु मन पाईएला र ? लौ,भनेको जस्तो निस्वार्थी, स्वच्छ र निष्कपटी ब्यक्ती पनि पाइयो रे , अनी के यो पुरुष प्रधान समाजले मेरो दोश्रो जीवनलाई स्विकार गर्ला र ?" म मेरा हितैषीहरुलाई प्रश्न गर्थें । आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पिँडालाई भुलाउने एउटा बहाना पाएकी छु । मेरो अतितलाई शहर्ष स्विकार गरी मसंगै सुख र दु:ख बाँड्न तयार एउटा साथी पाएकी छु । म, जीवनको दु:खद अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु । त्यसो भन्दैमा मैले मेरो अतिलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन । अतितका मिठा पलहरुलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नविन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन । तर मेरा परिवारका सदस्यहरुको निरन्तर प्रयास अनी साथीसंगतीहरु, अग्रज र दिग्गज ब्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरुले प्रदान गर्नु भएको हौशला, शाहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु । यती हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवस्य छ "के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्विकार गर्ला र ?"
श्वेताको यो प्रश्न केवल श्वेताको हैन,त्यस्ता हरेक महिलाको हो जो आजपनि समाजको डर र परिवारको इज्जतका खातिर आफु हास्न भुलेका छन्। म हास्दा समाजलाई पिडा हुन्छ,अनि म अपराधी बन्छु बन्ने डर छ। तर त्यो डरलाई श्वेताले जितिन। हामीले उनलाई साथ हौसला पो दिनुपर्ने हो त,हाम्रो श्री दाइलाई धोका दिएको भन्दै सराप्न मिल्छ ?
धोका श्वेताले श्रीलाई दिएको कि श्रीले श्वेतालाई ? बिहे गरेको एक महिना नबित्दै एक्लै छोडेर जाने श्री कि श्वेता ? नियतिले देखाएको बाटोलाई श्रीले मोड्न अनि छोड्न सकेनन भने श्वेता को हुन् ? जिन्दगी भरि रोएर फोटो काखी च्यापेर रुनु मात्र समर्पण हैन,यो किन बुझ्दैनन् मान्छेहरु ?
'एक्लै जीवन काट्न सकिन्छ' भन्ने कठोर निर्णय लिएर विगत ६ बर्षदेखी एक्लै हिँडीरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु । "अब उठ्नै सक्दिन कि " भन्ने कमजोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आशा हुँदो रहेछ । महिनै पिच्छे करिव हप्ता दिनको लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसंगै औषधीको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदो रहेछ । मनभित्र गाँठो परेर बसेका अब्यक्त बहहरुलाई बोकेर हिंड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथी बोकेर हिंड्नु भन्दा पनि कठिन रहेछ। तर मैले मेरा बहहरु ब्यक्त गर्ने कोसंग ? मैले साथीसंगतीहरुको भिडमा आँखा डुलाएर हेरें तर मेरो पिंडालाई महसुष गर्न सक्ने कोही देखिनँ । आफन्तहरुको घेरामा खोजेँ तर माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पिंडा पोखेर माइतीलाई थप तनाव दिनु हुन्न भन्ने मनन गरें । अत: मेरो हरेक दु:खमा म एक्लै रोएँ, पिंडाहरुमा आँफै सम्हालिएँ अनी अनेकन समस्याहरुसंग एक्लै जुधिरहें - उनले लेखेकी छन।
उनलाई सहाराको खाँचो थियो तपाई हामीमध्ये कोहि थियौ उनको साथमा ? उनी दुखमा एक्लै रोईन त खुशी पनि हुन पनि दिनुपर्छ नि एक्लै। दुखमा आँशु पुछ्न नसक्नेले खुशीमा खिल्ली उडाउन पाउदैनन। उनले आफ्नो जीवन आफ्नो तरिकाले जिउन खोज्दा श्रीकृष्णको अपमान सम्झने पापी सोच भएकालाई श्वेताले गतिलो उत्तर दिएकी छन् यो नै उनको पराक्रम हो।
तर उनको यो पराक्रमलाई लाचार बनाउन लागिपरेका केहि मान्छे सामाजिक संजलामै रोइलो गर्दै दिन बिताइरहेका छन्। श्रीमती मरेको १३ दिन नपुग्दै पुरुषलाई अर्को बिहे गर्नुपर्छ भनेर आट र ढाढस दिने समाज श्रीमानको मृत्युपछि आफुलाई उजाड बनानुपर्छ भनेर,यहि नियत हो भनेर सान्त्वना दिन्छ।
अनि अक्सर महिलाहरु हो यहि मेरो भाग्य हो भनेर रोएर बस्छन। इच्छा छैन भने अर्को बिवाह गर्नुपर्छ भन्ने पनि हैन तर संगै यात्रा गर्दा साथमा कोहि भैदिए हुन्थ्यो भन्ने लाग्छ भने बिवाह गर्नु कुनै पाप हैन।
श्वेता खड्का,समाज देखि डराउनु पर्दैन,सामाजिक संजालमा देखिएका एकाध नराम्रा कमेन्ट देखि त डराउनु पर्दैन। उनको फेबुकको कमेन्ट लिस्ट हेर्ने हो भने सयमा १-२ जना होलान जो नराम्रो कमेन्ट गर्दै छन् तिनीहरुको घृणा भन्दा ९८ जनाको माया र आशिर्वाद ठुलो हो।
यो समाजले मलाई स्वीकार गर्ला ? यस्तो सानो सोच हुनु राम्रो भएन। दोस्रो बिवाह गर्नु कुनै अपराध हैन,तपाई भन्दा पहिले पनि धेरैले दोस्रो बिहे गरेका छन्। समाजले स्वीकार नगर्ने र कुरै हुदैन। केहि अप्ठेरो आउला,केहि कुरा सुन्नु पर्ला तर स्वीकार गर्ने नगर्ने अधिकार समाज भित्र पर्दैन। देशको कानुनले रोकेको छैन,समाजलाई मात्र दोष दिएर हिनताबोध गर्नु भएन। केहि मान्छेले दुइ कुरा गर्दैमा पुरै समाज म बिरुद्ध छ भन्ने संका हटाऊनुपर्यो।
थोरै मान्छेले संका गरेका छन्,बिहे पछि श्वेताले श्रीलाई भुल्ने त हैन ? श्वेताको आफ्नै अस्तीत्व हुँदा हुँदै पनि श्रीसंग पनि उनको अस्तीत्व जोडिएको छ। आज सबैको नजरमा देखिएकी राम्री,प्यारी श्वेता खड्का बनाउन श्रीको ठुलो हात । उनका शुभचिन्तक श्वेताले श्रीलाई नबिर्सुन भन्ने चाहन्छन । उनले यसमा हरेक बार बोल्दै आएकी छन् श्रीलाई म कहिले भुल्दिन।
श्रीको गुणलाई भुलेकी,श्रीलाई धोका दिएकी,धोकेबाज जस्ता नमिठो अनि मुटु पोल्ने प्रतिक्रिया हामीले दिन सुहाउदैन। धोका नियतिले श्वेतालाई दिएको छ। बिहे गरेको महिना दिनमै सिन्दुर पुछिनु यो जतिको धोका अरु के हुन सक्छ ? प्रतिक्रिया दिन सजिलो छ तर भोग्न गाह्रो हुन्छ। श्वेताको आँखामा आँशु मात्रै देखिनु पर्छ भन्ने सोच बोकेकालाई मेरो बिहेको निर्णयले पोल्नेछ भनेर उनले भनेको कुरा सहि छ। खुशी देख्न नसक्नेले हो उग्र हुने।
बैबाहिक जीवनको असिमित शुभकामा श्वेता खड्का।
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७