काठमाडौँ -पाटन दरवार नेपालको मल्लकालिन एक दरवार हो । पाटन दरबार क्षेत्रको मुख्य आकर्षण कृष्ण मन्दिर, ललितपुरको सबैभन्दा अग्लो मन्दिर तलेजु भवानी मन्दिर, विश्वनाथ मन्दिर र भिमसेन मन्दिर हुन् ।
ललितपुरमा अवस्थित रहेको ऐतिहासिक मन्दिर कृष्ण सत्रौँ शताब्दीमा सिद्धिनरसिंह मल्लले निर्माण गर्न लगाएका थिए । पाटनको कृष्ण मन्दिरलाई शिखर शैलीमा निर्माण गरिएको पहिलो मन्दिरको रूपमा चिनिन्छ । नेपालकै सबै भन्दा धेरै २१ वटा गजुर भएको यो मन्दिर ढुंगैढुंगाले बनेको छ ।
कोरोनाले लगभग बन्द भएको दरबार परिसरमा आजभोलि खुबै मानिसको चहलपहल बढेको देखिन्छ । मुलुकमा कोरोना कहर आएसँगै गत वर्षको चैत महिनाबाट पाटनमा मानिसको आवागमन शून्य नै भएको थियो ।
गत वर्ष पाटनमा यस समय थुप्रै स्वदेशीलगायत विदेशी पर्यटकको चहलपहलका कारण मङ्गलबजार क्षेत्रमा हिँड्नसमेत ठेलमठेल हुन्थ्यो । मन्दिर तथा पुरातात्विक महत्वका सम्पदाले पाटन दरबार क्षेत्र भरिएको छ ।
पाटनमा विभिन्न काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका सामग्री निर्माण हुन्छ । काठमाडौँ उपत्यकाको प्रसिद्ध तीन शहरमध्ये पाटन सबैभन्दा पुरानो शहरको रूपमा परिचित छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७