काठमाडौँ -जापानकी एरिको कोबोयासीले आफूलाई चारपटक मार्ने कोसिस गरिन् ।
पहिलो पटक उनले २२ वर्षको हुँदा आत्महत्याको प्रयास गरिन् । त्यतबेला उनी टोकियोमा बस्थिन् र एक प्रकाशन कम्पनीमा फूल टाइम काम गर्दा पनि भाडा र बिल तिर्न असमर्थ हुन्थिन् । ‘म असाध्यै गरिब थिएँ,’ कोबायासीले भनिन् । घटनापश्चात् उनी अस्पतालमा तीन दिनसम्म बेहोस् बनेकी थिइन् ।
हाल ४३ वर्षकी कोबायासीले आफ्नो मानसिक समस्याबारे वर्णन गर्दै किताब लेखेकी छिन् । हाल उनी एनजीओमा कार्यरत छिन् । तर कोरोनाभाइरसले उनको पुरानो समस्या बल्झाएको छ – त्यहि पुरानो मानसिक तनाव ।‘मेरो तलब काटियो र मैले आशाको कुनै किरण देख्न सकिनँ,’ उनले भनिन् । ‘म लगातार डराइरहेँ, कतै गरिबीमा त फस्दिनँ ।’
विज्ञले महामारीले मानसिक स्वास्थ्य संकट निम्त्याउने हो कि भनेर चिन्ता व्यक्त गरेका छन् । सामूहिक बेरोजगार, एक्लोपना, तनावले संसारभरीको मानिसलाई गाँजेको छ ।
जापानको सरकारी आँकडा अनुसार एक वर्षको अवधिमा कोरोनाले जतिको ज्यान लियो, अक्टोबर एक महिनामा त्योभन्दा बढिले आत्महत्या गरे । जापानमा अक्टोबर महिनामा २ हजार १ सय ५३ जनाले आत्महत्या गरेको जापानको नेशनल पुलिस एजेन्सीले बताएको छ । शुक्रबारसम्म जापानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २,०८७ पुगेको जापानको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
महामारीले विश्वभरी मानसिक स्वास्थ्यमा कस्तो असर पारिरहेका छ भनेर यो डाटाले पुुष्टि गर्छ ।
‘हाम्रोमा लकडाउन पनि गरिएन, अन्य देशभन्दा महामारीको प्रभाव पनि यहाँ खासै परेन... तरपनि हाम्रोमा आत्महत्याको मामिला डरलाग्दो स्थितीमा पुगेको छ,’ टोकियोस्थित वासेडा युनिभर्सिटीका असोसिएट प्राध्यापक मिचिको इउडाले भने । मिचिको आत्महत्या सम्बन्धि विज्ञ पनि हुन् ।
‘यसले के भन्छ भने भविष्यमा आत्महत्याका घटना अन्य देशमा पनि यस्तै वा योभन्दा विकराल बन्न सक्छ ।’
कोभिडको मार महिलामा बढीः
विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरी जापानमा आत्महत्याको दर सर्वाधिक छ । सन् २०१६ मा प्रत्येक एक लाख व्यक्तिमा आत्महत्या दर १८.५ रहेको छ ।
हुन त जापानमा आत्महत्या दर किन उच्च छ भनेर बुझ्न मुश्किल छ । लामो समयसम्मको काम, विद्यालयको दबाब र मानसिक स्वास्थ्यको विषयमा समाजले गर्ने अपहेलनाका कारण पनि त्यहाँको मृत्युदर उच्च रहेको अनुमान गरिन्छ ।
यद्यपि, पछिल्लो १० वर्षमा जापानमा मृत्युदर कम भइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत वर्ष लगभग २० हजारले आत्महत्या गरेका थिए । सन् १९७८ देखि स्वास्थ्य अधिकारीले यसबारे रेकर्ड राख्न सुरु गरेपछिको यो सबैभन्दा कम संख्या हो ।
तर महामारीले यो ट्रेन्डलाई उल्ट्याएको छ । र यसले सबैभन्दा बढी महिलालाई प्रभावित पारेको छ । यद्यपि, कूल आत्महत्याको मामिलामा पुरुषको तुलनामा महिलाले कमै आत्महत्या गरिरहेका छन् तर यो संख्यामा वृद्धि भइरहेको छ ।
गत वर्षको तुलनामा अक्टोबरमा मात्रै महिलाको आत्महत्यादरमा ८३ प्रतिशतको वृद्धि भएको छ । तुलनात्मक रुपमा पुरुषको आत्महत्या दरमा भने २२ प्रतिशतको वृद्धि भएको छ ।
यसका लागि केही कारण पनि छन् । होटल, खाद्य संस्था, खुद्रा उद्योगमा महिलाको सहभागिता अत्यधिक छ । महामारीका बेला यो क्षेत्रमा बढी कर्मचारी कटौती भयो । कोबायासीका अनुसार उनका धेरै साथीको जागिर गुम्यो । ‘जापानले महिलालाई उपेक्षा गर्दै आएको छ,’ उनले भनिन् । ‘यो यस्तो समाज हो जब कुनै जटिल परिस्थिती सिर्जना हुँदा सबैभन्दा पहिले कमजोरको पत्ता साफ गरिन्छ । ’
अन्तरराष्ट्रिय रुपमा १० हजार व्यक्तिमाथि केयर नामको संस्थाले गरेको एक शोध अनुसार महामारीका बेला २७ प्रतिशत महिला मानसिक स्वास्थ्य सम्बन्धि समस्यासँग जुधिरहेका छन् । यता पुरुष भने १० प्रतिशत प्रभावित छन् ।
अनुसन्धानका अनुसार महिलालाई आफ्नो आयश्रोतको चिन्ता त छँदै छ, त्यसमाथि आकाश छुने बेतलबी हेरचाहको भार त छँदै छ । छोराछोरीलाई स्कूल वा चाइल्ड केयर सेन्टरमा पठाएपछि जागिर खान जाने महिलाहरुको काँधमा यतिबेला बढी जिम्मेवारी थपिएको छ । उनीहरुले छोराछोरीको हेरविचार सँगै आफ्नो दैनिक दिनचर्या, अफिसको काम लगायत गर्नुपर्दा, महिलाको मानसिक स्थिती यतिबेला थप जटिल स्थितीमा छ ।
यतिबेला बढ्दो तनाव र छोराछोरीलाई के होला, कसरी सुरक्षित राख्ने होला भन्ने लगायतका कुराले आमाको मनोस्थितीमा थप दबाब पारिरहेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७