काठमाडौँ -हुलाकमार्फत् गरिएको मतदानमा धाँधली भएको भन्दै हुलाकबाट मतदान गर्ने ऐनविरुद्ध नै डोनाल्ड ट्रम्प अभियानका तर्फबाट दायर गरिएको मुद्दा पेन्सिलभेनियाको सर्वोच्च अदालतले खारेज गरिदिएको छ। त्यस्तै प्रकारको मुद्दा फेरि अदालत ल्याउन नपाउने गरी ट्रम्प पक्षको मुद्दा खारेज गरिएको हो। यसलाई डोनाल्ड ट्रम्पको पछिल्लो कानुनी पराजयका रुपमा हेरिएको छ।
राज्यको सर्वोच्च अदालतका न्यायाधीशले एकमतका साथ शनिबार राति यस्तो फैसला गरेका हुन्। पेन्सिलभेनियामा हुलाकबाट पठाइएका मतपत्रहरु गणना नगर्न माग गर्दै ट्रम्प अभियानका तर्फबाट मुद्दा दायर गरिएको थियो ।
पेन्सिलभेनियामा युनिभर्सल मेल इन मतदान स्थापना गर्ने २०१९ मा ल्याइएको ऐन ७७ लाई चुनौती दिदै ट्रम्प अभियानले मुद्दा दायर गरेको थियो। तर यो ऐनलाई चुनौती दिने मुद्दा ऐन आएको एक वर्षपछिमात्र दायर गरिएको र ऐनलाई चुनौती दिने कानुनी आधारहरु नभएको भन्दै न्यायाधीशहरुले फैसला गरेका हुन् ।
पेन्सिलभेनियाका महान्यायाधिवक्ताले शनिबार राति ट्वीट गर्दै प्रजातन्त्रका लागि अर्को जीत भएको बताएका छन्। यसअगाडि शुक्रबारमात्र संघीय पुनरावेदन अदालतबाट पनि पेन्सिलभेनियाको प्रमाणीकरण उल्टाउनका लागि अनुरोध गर्दै ट्रम्प पक्षबाट दायर मुद्दा खारेज गरिएको थियो।
प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७