काठमाडौँ -महोत्तरी-६ वर्षीया बालिका गुलाप्सा खातुनको हत्याको विरोधमा महोत्तरीमा तनाव भएको छ । आक्रोशित स्थानीयले बालिकाको शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेका छन् ।
बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीबाट ६ वर्षीय बालिका गुलाब साह खातुनको आइतबार साँझदेखि हराएकी थिइन् भने उनको शव सोमबार मध्यरात हत्यापछि बोरामा फ्याकिएको अवस्थामा फेला परेको थियो ।
स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको दावी गरेपनि प्रहरीले भने अनुसन्धानकै क्रममा रहेको बताएकाे छ। यहि कुरामा अहिले स्थानीय र प्रहरीबीच विवाद पनि भैरहेको छ।
महोत्तरीमा गोली चल्यो
६ वर्षीया बालिका गुलाप्सा खातुनको हत्याको विरोधमा प्रर्दशनमा उत्रिएकाहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले अश्रुग्यासका साथै गोलीसमेत चलाएको छ। प्रहरीको गोली लागेर २ प्रदर्शनकारी घाइते भएका छन्। उनीहरुको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ।
आक्रोशित स्थानीयले बालिकाको शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेका छन् भने सो क्रममा हत्या आरोपीको घरमा आगजनी समेत गरेका छन् । आन्दोलनकारी उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको बताइएको छ ।
बालिकाको हत्या गरेको आरोपमा महोत्तरीकै गौशाला नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका अरुण कुमार साहलाई पक्राउ गरेको छ । हत्यारालाई सजायको माग गर्दै आफन्त तथा स्थानीयले लगातार प्रदर्शन गरिरहेका छन्। प्रहरीले स्थितिलाइ नियन्त्रणमा लिन खोजेपनि स्थानीयले यो कुरा बेवास्ता गरेपछि शुरुमा अश्रु ग्यास र पछि गोली चलाएको थियो।
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७