कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालयको ब्यूरो टोली र इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले १७२ थान अवैध सालको काठसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रदेश प्रहरीको ब्यूरो र इप्रका छिन्चुबाट सोमबार खटिई गएको विशेष टोलीले भेरीगङ्गा नगरपालिका–१० सुर्खेतका ४१ वर्षीय अलबहादुर पुनमगर, सोही नगरपालिका–४ का ४६ वर्षीय उदिराम खत्री र ३८ वर्षीय खिमराज खत्रीलाई नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाका आधारमा प्रहरीले सुर्खेत ठूलाखालबाट छिन्चुतर्फ भे १ ह ३३४१ नं.को अटोमा लाँदै गरेका अटोचालक पुनमगरबाट ८.५ क्युफिटको २३ थान सालको अवैध काठ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।
त्यस्तै, विशेष सूचनाका आधारमा भेरीगङ्गा नगरपालिका– ४ सुर्खेतका उदिराम खत्रीको घरको करेसाबारीमा लुकाइछिपाई राखेको अवस्थामा ११४.४७ क्युफिटको १३६ थान सालको अवैध काठ र सोही वडाका खिमराज खत्रीको घरमा लुकाइछिपाई राखेको अवस्थामा ७.११ क्युफिटको १३ पिस सालको अवैध काठ बरामद गरिएको प्रहरी निरीक्षक रायमाझीले बताए ।
उनका अनुसार, बरामद गरिएको अवैध काठ र नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक कारबाहीका लागि सब डिभिजन वन कार्यालय छिन्चु सुर्खेतमा बुझाइएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७