काठमाडौँ -बेलायतकी राजकुमारी डायनाको सन् १९९५ मा दिएको अन्तर्वार्तामाथि बीबीसीले स्वतन्त्र अनुसन्धान गर्ने भएको छ ।
वास्तवमा डायनाका भाइ अर्ल स्पेन्सरले सन् १९९५ मा बीबीसीका पत्रकार मार्टिन बशिरले डायनालाई अन्तर्वार्ता दिन राजी गराउनका लागि बैंकको नक्कली विवरण प्रयोग गरेको आरोंप लगाएका छन् ।
यो दाबीको अनुसन्धानका लागि बीबीसीले बेलायतको सबैभन्दा वरिष्ठ न्यायाधीशमध्येका एक लर्ड डायसनलाई अनुसन्धान प्रमुख नियुक्त गरेको छ । लर्ड डायसन बेलायको सर्वोच्च अदालतको न्यायधीश पनि भइसकेका छन् ।
बीबीसीका डायरेक्टर जनरल टिम डेवीले भनेका छन्, ‘बीबीसी यो घटना पछाडिको वास्तविकता ल्याउनका लागि प्रतिबद्ध छ त्यसैले हामीले एक स्वतन्त्र अनुसन्धानको आदेश दिएका छौं । लर्ड डायसन एक प्रख्यात र असाध्यै सम्मानित व्यक्तित्व हुन् जसले यो अनुसन्धानको नेतृत्व गर्नेछन् ।’
डायनाका भाइ अर्ल स्पेन्सरले यसै महिनाको सुरुवातमा यसको एक स्वतन्त्र अनुसन्धान हुनुपर्ने माग राख्दै उक्त अन्तर्वार्ता पाउनका लागि बेइमानीको सहारा लिएको आरोप लगाए ।
डेली मेलको एक रिपोर्ट अनुसार अल स्पेसरले टिम डेवीको नामबाट लेखेको एक पत्रमा भनेका थिए, ‘पत्रकार मार्टिन बशिर (सन् १९९५ मा डायनाको अन्तर्वार्ता लिने पत्रकार) ले बैंकका नक्कली दस्तावेजमार्फत् शाही घरनामा काम गर्ने दुई वरिष्ठ अधिकारीलाई डायनासँग सम्बन्धित जानकारी पाउनका लागि भुक्तानी गरिएको बताइएको थियो ।
उनले लेखेका छन्, ‘यदि मलाई यो नदेखाइएको भए म मार्टिन बशिरलाई कहिले पनि मेरी दिदीसँग भेट्न दिँदैनथेँ ।’डेली मेललाई दिएको एक अन्तर्वार्तामा अर्ल स्पन्सरले भनेका छन्, ‘मार्टिन बशिरले भेटघाटको क्रममा शाही घरानाका थुप्रै वरिष्ठ अधिकारीविरुद्ध झुटो र मानहानीयुक्त दाबी गरे ताकि उनी डायनासम्म पुग्न सकून् र मेरो विश्वास हाँसिल गर्न सकून् ।’
बशिरले डायनाको कारको पिछा गर्दै गरिएको र फोन पनि ट्याप गरिएको भन्ने दाबी गरेका थिए । ५७ वर्षका मार्टिन बशिर बीबीसी न्यूजमा धार्मिक मामिलाका सम्पादक हुन् । यतिबेला उनी मुटुको शल्यक्रिया र कोभिड–१९ जस्ता स्वास्थ्य समस्याका कारणले यी आरोपमाथि कुनै प्रतिक्रिया दिइरहेका छैनन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७