काठमाडौँ -५० बच्चालाई यौन दुर्व्यवहार गरेको आरोपमा भारतको उत्तर प्रदेशको सिँचाइ विभागका एक जुनियर इन्जिनियर पक्राउ परेका छन्। समाचार संस्था पिटीआईका अनुसार ती बच्चालाई यौन उत्पीडन गरेको, उनीहरुको भिडियो बनाएको र तस्बिर बेचेको आरोपमा सिबीआईले उनलाई पक्राउ गरेको हो।
अनलाइनमा यौन उत्पीडन गर्नेहरुमाथि निगरानी गर्न गठन गरेको निकायको स्पेसल युनिटले ती इन्जिनियरमाथि केहीसमयदेखि निगरानी गरिरहेको थियो। अधिकारीहरुका अनुसार ती व्यक्तिले १० वर्षका क्रममा ५ देखि १६ वर्षसम्मका करिब ५० बच्चाहरुलाई यौन दुव्र्यहारको शिकार बनाइसकेको थियो। ती बालबालिकाहरु उत्तरप्रदेशका विभिन्न जिल्लाका भएको बताइएको थियो।
ती इन्जिनियरले बच्चाले आफ्नो बारेमा कतै गुनासो नगरुन् भनेर नगद, मोबाइल फोनजस्ता उपहार दिने गरेका थिए। पीडक उत्तर प्रदेशको चित्रकुट जिल्लाको भएको बताइएको छ। उनको साथबाट करिब ८ लाख नगद, मोबाइल वेब क्यामेरा, पेन ड्राइभ, मेमोरी कार्ड, यौन खेलौनालगायत बरामद गरिएको छ।
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७