काठमाडौँ -फेसबुकले अमेरिकाकी नव–निर्वाचित कमला ह्यारिसबारे विभिन्न जातीवादी र महिला विरोधी आपत्तिजनक सामग्री, मीम्स र कमेन्ट हटाइदिएको छ ।
बीबीसीले फेसबुकलाई यसबारे जानकारी दिएपछि यस्तो गरिएको हो । बीबीसीले फेसबुकलाई यस्ता तीन समूहबारे जानकारी दिएको थियो जसले लगातार घृणायुक्त सामग्री पोस्ट गर्ने गर्छन् ।
फेसबुकका अनुसार उसले आफ्नो मञ्चबाट घृणा फैलाउने ९० प्रतिशत सामग्रीलाई ऊजुरी गर्नुअघि नै हटाएको छ ।यद्यपि, कमला ह्यारिसबारे घृणायुक्त सामग्री हटाएपछि फेसबुकले यी सामग्री पोस्ट गर्ने समूहविरुद्ध आफूहरुले कुनै कारवाही नगर्ने बताएको छ ।
मिडियाको निगरानी गर्ने एक संस्था मिडिया म्याटर्सका अध्यक्ष एन्जेलो केरुसोनले यसबारे भने, ‘मिडियाको उजुरीपछि सामग्री हटाउनुले यो दर्साउँछ कि फेसबुकको नियम र दिशानिर्देश कति खोक्रो छन् र यसको पालनाका लागि उनीहरु शून्य बराबरको प्रयास गर्छन् ।’
भारतसँगको नातामाथि प्रतिक्रियाः
यी पेजमा कमला ह्यारिसमाथि तथानाम आरोप लगाइए जस्तै कि उनी अमेरिकी नागरिक होइनन् किनभने उनकी आमा भारतीय थिइन् र उनका पिता जमेकाका थिए ।
केही कमेन्टमा उनलाई ‘भारत डिपोर्ट गरिनुपर्ने’ पनि बताइयो ।अन्य थुप्रै मिम्समा उनको नामको मजाक उडाइयो ।एक फेसबुक पेजमा चार हजार सदस्य थिए भने अर्कोमा १२ सय ।
थुप्रैपटक त्यसमा यौनजन्य र महिलाविरोधी सामग्री पनि देखियो जसलाई अब हटाइएको छ ।फेसबुकलाई उसको विज्ञापनदाता र नागरिक अधिकार समूहले लगातार घृणायुक्त सामग्रीलाई हटाउनका लागि पर्याप्त प्रयास नगरेको आरोप लगाउने गर्छ ।अगस्टमा सयौं कम्पनीले विरोधमा फेसबुकमाथि विज्ञापन दिन बन्द गरेको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७