काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ ठूलीपोखरीका स्थानीय बासिन्दाको सक्रियतामा चौतारी निर्माण भएको छ। स्थानीय युवाको सक्रियतामा ठूलीपोखरी संरक्षण उपभोक्ता समिति गठन गरी चौतारी निर्माण गरिएको हो।
चौतारी उद्घाटन कार्यक्रममा नगरप्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले युवाहरूको सक्रियताबाट पोखरी, चौतारी संरक्षणलगायतका काम भएको भन्दै खुशी व्यक्त गरे। नगरपालिकाले सबै वडामा वृद्धवृद्धा भेटघाट चौतारी बनाइरहेको बताउँदै उनले स्थानीय युवाको कामले त्यसलाई अघि बढाउन थप मद्दत पुगेको उल्लेख गरे। सो क्रममा उनले नगरको समग्र विकासमा युवापङ्क्तिसँग सहकार्य गरेर अघि बढ्नेसमेत प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा नमोबुद्ध–२ का वडाध्यक्ष सञ्जीव ढकालले चौतारी, पोखरीलगायत पुरातात्विक र धार्मिक महत्वका स्थानको संरक्षणमा वडाले आवश्यक सहयोग गर्ने बताए। युवाहरुको सक्रियताले निर्माण भएको चौतारोले वडालाई थप सहयोग पुगेको उनको भनाइ छ।
ठूलीपोखरी संरक्षण उपभोक्ता समितिका अध्यक्ष सञ्जोग गौतमले आठ दिनको अवधिमा सकिएको चौतारी निर्माणकार्यमा स्थानीय युवाको सक्रियता महत्वपूर्ण रहेको बताए। विकास निर्माणको जिम्मा युवापङ्क्तिलाई लगाउँदा समयमा नै सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण बनेको उल्लेख गर्दै उहाँले समयसँगै पारदर्शी हुनेसमेत बताए। समितिका संरक्षक उद्धवप्रसाद न्यौपानेले युवाहरूले गरेको काममा वडा तथा नगरले साथ र सहयोग गर्नुपर्नेमा जोड दिए। करिब तीन लाख रूपैयाँको लागतमा सो चौतारो निर्माण गरिएको हो।
प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०७७