बैतडी-दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो ।
सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
मृतकमध्ये आठ जनाको शव घटनास्थलबाट निकालिसकिएको छ भने एकजनाको बससँगै अड्किएकाले आज दिउँसो निकालिने प्रहरीले बताएको छ । प्रहरी र स्थानीयवासी मिलेर राति नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको थियो ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रनाउ अधिकारीले जानकारी दिनुभयो । दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै यकिन भइनसकेको प्रहरीले जनाएको छ । बस बैतडीको दोगडाकेदार–७ खोचलेकका वीरेन्द्र कार्कीको रहेको बताइएको छ । साहुु आफैँ चालक रहेका र उनीसमेत घाइते भएका छन् ।
बैतडी बस दुर्घटना अपडेट : चार जनाको सनाखत
दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गए राति बस दुर्घटनामा परी मृत्यु भएका नौमध्ये चार जनाको सनाखत भएको छ । बैतडीको दोगडाकेदार–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार–६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी र कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया किर्तिका कार्कीको सनाखत भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
मृतक चन्द र ऐरको घटनास्थलमै मृत्यु भएको हो भने कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ऐरको शव बसले च्यापिएकाले निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । अन्य पाँच मृतकको पहिचान हुन सकेको छैन । उनीहरुको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
उक्त दुर्घटनामा परी घाइते भएका ३४ मध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो ।
सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । क्षमताभन्दा बढी यात्रु बोकेको बसका चालक निदाएकाले दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ
प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७