सर्लाही । जिल्लाका अधिकांश ग्रामीण सडक धुलाम्मे हुँदा चाडपर्वका समयमा गाउँघर फर्किने यात्रुले सास्ती पाएका छन् । लामो समयदेखि जीर्णावस्थामा रहेका जिल्लाका भित्री ग्रामीण सडक आवतजावत गर्नै मुश्किल पर्ने गरी धुलाम्मे भएका छन् । यसबाट पैदल यात्रीका साथै सवारी साधनमा यात्रा गर्ने यात्रीहरु मारमा परेका छन् ।
जिल्लाको पूर्वपश्चिम हुलाकी सडक, चन्द्रनगर, ब्रह्मपुरी हुँदै सदरमुकाम मलंगवासम्म पुग्ने सडक, हरिपूर्वाबाट पर्सा गाउँपालिका हुँदै सदरमुकाम मलंगवासँग जोडिएको सडक र नवलपुरबाट मलंगवा जोड्ने सडक जीर्ण छन् । यात्राका क्रममा चर्को घाममा ठूल्ठूला खाल्डाखुल्डी र कुहिरीमण्डल धूलो उड्ने हुलाकी सडकको यात्रा गर्दा बिरामी हुने अवस्था आएको एक यात्री रजनीश रायले बताए । अहिले धुलाम्मे सडक थोरै पानी पर्नेबित्तिकै हिलाम्मे भई पोखरीमा परिणत हुने र पानी नपर्दा धुलाम्मे हुने गरेका कारण स्थानीय पैदल यात्री तथा सवारी यात्री मारमा पर्ने गरेको पर्सा गाउँपालिका–१ का वडाध्यक्ष सुरेन्द्रकुमार रायले बताए ।
अत्यधिक खाल्डाखुल्डी र धुलाम्मे ग्रामीण सडकका कारण यात्रुलाई हैरानी हुनाका साथै दुर्घटना पनि बढ्न थालेको अध्यक्ष रायले बताए । विशेष गरी साँझका समयमा सवारी साधनको बढी आवागमन हुने भएकाले ग्रामीण सडकमा दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्लाका दक्षिण–पूर्वी र दक्षिण–पश्चिम भेगका नागरिकले ग्रामीण सडक अत्यन्त खराब हुँदा सदरमुकामसम्म आउजाउ गर्न समस्या भइरहेको गुनासो गरिरहेको मलंगवा नगरपालिकाका प्रमुख निरसल साहले बताए । नगरपालिका मातहतका सडक मर्मतसम्भार र निर्माणको काम चलिरहे पनि केन्द्र सरकारले लगानी गरिरहेको हुलाकी सडकमा आफूहरुले केही गर्न नसक्ने साहको भनाइ छ ।
त्यस्तै चुरे फेदीका बस्तीका नागरिक पनि सहज रुपमा सवारी साधन सञ्चालन गर्न सक्ने सडकको अभावका कारण मारमा परेका छन् । सरकारी उदासीनताका कारण वर्षौंँदेखि जीर्ण तथा निर्माणाधीन अति पुरानो हुलाकी सडकखण्डको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको र सो सडकखण्डको निर्माण तोकिएको समयमा पूरा हुन नसकेको भनी स्थानीयवासी आक्रोशित छन् ।
तराई–मधेशका जिल्ला जोड्ने हुलाकी सडकलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको भए पनि यसको निर्माणमा संघीय, प्रदेश र स्थानीय तीनवटै तहका सरकारले चासो नदेखाएका कारण ढिलाइ भइरहेको जानकारको भनाइ छ । उत्तरतर्फ सर्लाहीको पर्सा गाउँपालिकाअन्तर्गत संग्रामपुरपछि पर्ने महोत्तरी जिल्लामा निर्माण पूरा भइसकेको छ । संग्रामपुरदेखि सर्लाहीको सदरमुकाम मलंगवा हुँदै वाग्मतीसम्मको हुलाकी सडकको निर्माण रोकिएको छ । उक्त सडकमा कतै खाल्डाखुल्डी छन् भने कतै वर्षाको पानीले सडकनै बगाएको छ । जीर्ण सडकमा दिनहुँजसो दर्जनौंँ दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७