काठमाडौं । भारत विहारको विधानसभाका लागि २४३ सीटमा भएको चुनावको मतगणना सम्पन्न भएको छ । राष्ट्रिय जनतान्त्तिक गठबन्धन (राजग) ले १२५ र महागठबन्धले ११० सीट हात पारेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार गठबन्धनमा सहभागी भारतीय जनता पार्टी ७४, जनता दल युनाइटेड ४३, विकाशसील इन्सार पार्टी ४ र हिन्दुस्थानी अवाम मोर्चाले ४ सीट जितेका छन् । त्यस्तै महागठबन्धनमा रहेका राष्ट्रिय जनता दल ७५, भारतीय काँग्रेस १९, भारतीय कम्युनिस्ट पार्टी माले १२, भारतीय कम्युनिस्ट र माक्र्सवादी कम्युनिस्ट पार्टीले दुई–दुई सीट जितेका छन् ।
विहारको चुनावमा पहिलो चोटी गठबन्धनमा भाजपाले जनता दल युनाईटेडभन्दा बढी सीट ल्याएको छ । भाजपाले बढी सीट ल्याएपनि शुरुको प्रतिवद्धताअनुसार अहिलेलाई नीतिशकुमारलाई बिहारको मुख्यमन्त्री बनाउने निश्चित छ । विहारको चुनावमा असदुद्दीन ओबीसीको पार्टी एआइएमआइएमले पाँचवटा सीट जितेको छ । रामविलास पासवानको पार्टीले एक सीट मात्र हात पार्न सफल भएको छ । चुनावकै समयमा रामविलास पासवानको निधन भएको थियो । उनको निधनपछि उनका छोरा चिराग पासवानले पार्टीलाई सम्हालेका छन् । त्यसैगरी मायावती नेतृत्वको बसपा पार्टीले पनि एक सीटमा चित्त बुझाएको छ । तर जानकारका अनुसार यसपटको चुनावमा नीतिशकुमारको पार्टी राजयुले त्यति राम्रो प्रदेर्शन गर्न सकेन । सन् २०१५ मा जुन अवस्था राजयुको थियो, त्यो यसपटक देखिएन ।
नीतिशकुमारका धेरैजसो उम्मेदवारले चुनाव हारेका छन् । बरु आशा नगरिएको भाजपाले यसपटक राम्रो प्रदर्शन गरेको छ । विहारमा नीतिशकुमारको बलमा भाजपाले चुनावमा भाग लिएर आफ्नो काम चलाउँथ्यो तर यसपटक सबै उल्टो भयो । बरु लालप्रसाद यादवका छोरा तेजस्वी यादवको राष्ट्रिय जनता दलको प्रर्दशन पनि राम्रै थियो । लालु यादव जेलमा भएको कारण उनको पार्टीको हालत निकै खराब थियो । उनको दलले चुनावमा १५ देखि २० वटा सीट ल्यायो भने त्यो नै बढी हुन्छ भने धेरैको अनुमान थियो । यसअघि तेजस्वी यादवले कोरोनाका कारण चुनाव रोक्नुपर्ने प्रस्ताव राखेका थिए । उनले सो प्रस्ताव राखेपछि त झन् उनको पार्टी कमजोर अवस्थामै पुगेको रहेछ भन्ने धेरैले अनुमान गरेका थिए । तर जब चुनावको माहौल शुरु भयो त्यसपछि कसैले नपत्याउने गरी अगाडि आए तेजस्वी यादव । उनले आफ्नो दममा यो अवस्था ल्याउन सफल भएका छन् । विहारमा तेजस्वी यादव एउटा शक्तिशाली विपक्षी दलको नेताको रुपमा रहने चर्चा शुरु भएको छ ।
यसपटकको चुनावमा उनले आफ्नो परिवारका कसैको साथ लिएनन् । बरु आफ्नो पारिवारिक विरातलाई इग्नोर नै गरे । पटक–पटक मुख्यमन्त्री बनेका बुवा लालु यादव र आमा रवरीदेवी यादवबाट समेत उनले साथ लिएनन् । उनले आफ्ना बहिनी र भाइको पनि देखिने गरि सहयोग लिएनन् । यहाँसम्म कि आफ्नो पोस्टरमा आफ्ना आमा–बुवाको फोटो वा नाम समेत कतै उल्लेख गरेनन् । किनभने नीतिशकुमारको प्रहार नै लालु यादवमाथि थियो । नीतिशकुमारले लालु यादवको कार्यकालमा विहारको अवस्थाको बारेमा निकै प्रचार गरे । नीतिशकुमारले तेजस्वी यादवको विरोध गर्नुभन्दा पनि लालु यादवको विरोध गर्थे ।
त्यही कारणले तेजस्वी यादवले आफ्नो आमाबुवालाई देखिने गरि आफ्नो चुनाव प्रचारको समाग्रीमा राखेनन् । बरु बुवाको पालामा भएको गल्तीहरुलाई सुधार गर्ने भन्दै जनतासँग माफी माग्दै हिँडेका थिए । तेजस्वी यादवले ३८ हजार मत प्राप्त गरेका छन् । लालु यादव जहाँबाट चुनाव लड्थे त्यहीबाट तेजस्वी यादवले पनि चुनाव जितेका छन् । तेजस्वी यादवले भाजपाका सतिशकुमारलाई ३८ हजार १७४ मतले हराएका छन् । तेजस्वीका दाइ तेजप्रताप यादवले पनि २१ हजार मतले चुनाव जितेका छन् ।
को हुन् नीतिशकुमार ?
चुनाव प्रचारको क्रममा नीतिशकुमारले आफ्नो अन्तिम चुनाव रहेको घोषणा गरेका थिए । उनलाई त्यसको पनि सहानुभूति मत आएको विश्लेषकहरुको भनाई छ । सन् १९७७ मा आफ्नो राजनीति यात्रा शुरु गरेका नीतिशकुमार छोटो समयमा आफ्नो पकड बनाउन सफल भएका छन् । उनलाई भारतको भावी प्रधानमन्त्रीको रुपमा पनि विश्लेषण गर्न शुरु गरिएको थियो । ६९ वर्षीय नीतिशकुमारले विहार कलेज अफ इन्जिनियरिङबाट बीटेकको अध्ययन गरेका छन् । उनी पटनाभन्दा ३५ किलोमिटर टाढा रहेको बख्तियारपुरका वासिन्दा हुन् ।
नीतिशकुमारका बुवा भारतका स्वतन्त्र सेनानी थिए । श्रीमती मन्जु सिन्हा शिक्षिका थिइन् । उनको निधन भइसकेको छ । नीतिशकुमारका एकमात्र छोरा छन् । उनी इन्जिनियर हुन् । उनले सबैभन्दा पहिले सन् २००० मार्च ३ मा मुख्यमन्त्रीको सपथ लिएका थिए तर बहुमतको अभावमा उनी सात दिन पनि मुख्यमन्त्री पदमा रहन सकेनन् । त्यसपछि उनी सन् २००५ मा मुख्यमन्त्री बने । तेस्रोपटक सन् २०१० मा मुख्यमन्त्री बनेका थिए ।
उनले २०१४ मा मुख्यमन्त्री पदबाट राजिनामा दिएका थिए तर २२ फेब्रुअरी २०१५ मा उनी पुनः मुख्यमन्त्री बने । २० नोभेम्बर २०१५ मा उनले पाँचौपटक मुख्यमन्त्री पदको सपथ लिए । त्यसपछि २०१७ मा छैटौपटक मुख्यमन्त्री पदको सपथ लिएका नीतिशकुमार सातौपटक मुख्यमन्त्रीको पदमा सपथ लिन गइरहेका छन् । यसपाली नीतिश कुमार आफ्नो दममा होइन, भाजपाको दममा मुख्यमन्त्री बनिरहेका छन् । चुनावमा भाजपाको जुन मत आएको छ, त्यो प्रतिवद्धताअनुसार नीतिशलाई नै मुख्यमन्त्री बनाउने भएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७