कञ्चनपुर-महाकाली नदीको तल्लो जलाधार क्षेत्रमा नदीजन्य पदार्थ उत्खननको कार्यलाई व्यवस्थित बनाउनका लागि योजना बनाइएको छ । नदीजन्य पदार्थ उत्खननका लागि भीमदत्त नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) गरेको छ ।
नदीजन्य पदार्थ उत्खनन गर्दा वातावरणीय प्रभावलाई न्यूनीकरण गरी उत्खनन गर्ने, स्थानीयवासीको बासस्थानलाई सुरक्षित गर्ने र नदीजन्य पदार्थ सङ्कलन गरी जीविकोपार्जन गर्दै आएका बासिन्दालाई दिगोरुपमा रोजगारी दिनेबारे नगरपालिकाले योजनाबद्धरूपमा कार्य अगाडि बढाएको छ ।
नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले महाकाली नदीसहित अन्य क्षेत्रको उत्खननलाई व्यवस्थित बनाउन नगरपालिकाले नीतिगतरूपमा अघि बढेको बताए । “नदीजन्य पदार्थ उत्खननसँग स्थानीयको रोजागरी पनि जोडिएको छ, त्यसलाई ध्यान दिएर अघि बढेका छौँ”, उनले भने, “निर्देशिका बनाइएको छ, त्यसैका आधारमा काम गरिरहेका छौँ ।”
महाकाली नदीमा नदीजन्य पदार्थ उत्खननका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) गरिएको उल्लेख गर्दै उनले नगरपालिका वातावरणीय प्रभाव मूल्याङ्कन (इआए) मा जाने गरी तयारीमा जुटेको बताए ।
भीमदत्त–१२ का वडाध्यक्ष कृष्णसिंह देउपाले नदीजन्य पदार्थ उत्खनन गर्दा लोपोन्मुख प्रजातिको बासस्थान संरक्षणलाई समेत ध्यान दिनुपर्ने बताए । महाकाली नदीको तल्लो जलाधार क्षेत्रका स्थानीय तहलाई नदीजन्य पदार्थ उत्खननमा सहयोग कार्यक्रम सञ्चालन गरिएको छ । महाकालीको तल्लो जलाधार क्षेत्रमा पर्ने भीमदत्त नगरपालिका र महाकाली नगरपालिकामा पानी परियोजनाअन्तर्गत दिगो उत्खनन अभ्यासका लागि स्थानीय सरकारलाई प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको हो । बाफर नेपाल कैलालीले सुदूरपश्चिम प्रदेशको कर्णाली र महाकाली नदीको तल्लो जलाधार क्षेत्रमा पाँच महिनासम्मका लागि कार्यक्रम शुरु गरेको छ ।
बाफर नेपालका कार्यक्रम संयोजक ममता रावलले नदीजन्य पदार्थ उत्खननलाई व्यवस्थित बनाउन संरचना निर्माणमा सहयोग पुर्याउने लक्ष्य राखेर कार्यक्रम सञ्चालन गरिएको बताए ।
प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७