काठमाडौँ -अमेरिकाका थुप्रै ठूला टिभी च्यानलले राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावको विषयमा गर्दै गरेको टिप्पणी बीचमा नै रोकेका छन् ।
त्यहाँका च्यानल – एबीसी, सीबीएस र एनबीसी– ले उनको पत्रकार सम्मेलनको कभरेज बीचमा नै रोकिदिएका छन् र आफ्ना दर्शकलाई राष्ट्रपतिले थुप्रै झुटा बयान दिएको बताएका छन् ।
पत्रकारका अनुसार राष्ट्रपति ट्रम्पको कुरा सुन्दा यस्तो लाग्छ कि उनी ‘पोस्टल मत’ लाई धोकापूर्ण ठहर गर्न लागीपरेका छन् ।ट्रम्पले मतदान अघि नै आफ्ना समर्थकलाई पोस्टलमार्फत् भोट नहाल्न अपिल गर्दै आफैं गएर मतदान गर्न आग्रह गरेका थिए ।
यता जो बाइडनले भने आफ्ना समर्थकलाई कोरोना महामारीका कारण धेरैभन्दा धेरै संख्यामा पोस्टल मतबाटै भोटिङ गर्न आग्रह गरेका थिए ।
राष्ट्रपति ट्रम्पले नेपाली समयानुसार शनिबार बिहानै एकपटक पुनः कुनै प्रमाण बिना वैध मतको गन्तीको हिसाबले राष्ट्रपति चुनावमा उनकै जीत हुने दाबी गरे ।
दुई दिनको मौनतापछि उनले यस्तो समयमा मुख खोलेका छन् जब दुई महत्वपूर्ण राज्य – जर्जिया र पेन्सिल्वेनिया– मा पोस्टल मतको जारी गन्तीसहित उनको अग्रता घट्दै छ ।
राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा एकपटक पुनः आफ्नो जीतको दाबी गर्दै अवैध मतसँगै उनको पक्षमा आएको चुनाव परिणाम चोर्ने कोसिस गरिएको बताए ।
यद्यपि, विश्लेषकका अनुसार उनको दाबीको कुनै जायज आधार छैन । राष्ट्रपति ट्रम्प जुन पोस्टल मतको गन्तीको इशारा गर्दैछन् । ती अवैध होइनन् । ती मतको गन्ती यसकारण भइरहेको छ किनभने अमेरिकाका विभिन्न थुप्रै राज्यमा यही प्रावधान छ ।
अन्तरराष्ट्रिय पर्यवेक्षकले अमेरिकामा भइरहेको चुनावलाई राम्रो तरिकाले सम्पन्न भइरहेको चुनाव बताएका छन् ।
यसैबीच राष्ट्रपति ट्रम्पका समर्थकले थुप्रै राज्यमा कानूनी लडाईंका लागि करोडौं डलर जुटाउन सुरु गरेका छन् । – बीबीसी
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७