काठमाडौँ -एकदिन पछि चुनावको परिणाममा खासै ठूलो परिवर्तन देखिएको छैन । ६ राज्यमा मतगणना जारी छ र यही राज्यले निर्णय बदल्न सक्छ । जो बाइडनका लागि राष्ट्रपति पदको मार्ग थोरै सजिलो देखिएको छ तर डोनल्ड ट्रम्पले कुनै पनि बेला खेल उल्ट्याउन सक्छन् ।
बाइडनसँग यतिबेला २६४ इलेक्टोरल कलेज भोट छ भने ट्रम्पसँग २१४ भोट छ । ह्वाइट हाउसमा पुग्नका लागि २७० भोट आवश्यकता छ ।
– मिशिगनमा जो बाइडनको जीतको सम्भावना छ । पारम्परिक रुपमा यो राज्यलाई डेमोक्रेटिक मानिन्छ तर सन् २०१६ मा हिलेरी क्लिंटन यहाँ हारेकी थिइन् ।
– जर्जियामा अधिकारीले सबै मतगणना नभएसम्म रातभरी मतगणना जारी राख्ने बताएका छन् । राती त्यहाँ ९० हजार मत बाँकी थिए र ट्रम्प २८ हजार मतको अग्रतामा छन् ।
– नेवाडामा कडा प्रतिस्पर्धा छ जहाँ बाइडन ७,६४७ भोटले अघि छन् । अधिकारीले अर्को परिणाम बिहिबार स्थानीय समयानुसार बिहान ९ बजे बताइने जानकारी दिएका छन् ।
– एरिजोनामा धेरैजसो भोटको गन्ती जारी छ तर यो स्पष्ट छैन कि जीतको अनुमान कहिलेसम्म आउनेछ ।
– विस्कन्सिनमा रोयटर्सले कुनै अनुमान लगाएको छैन । त्यहाँ बाइडनको २०,५१० भोटको अग्रता छ ।
– पेन्सिल्वेनियामा ९० प्रतिशत मतको गणना भइसकेको छ र ट्रम्प १,६४,४१४ भोटले अघि छन् । बुधबार दिउँसो ट्रम्पको यहाँ ३,७९,६३९ भोटको अग्रता थियो ।
–नर्थ क्यारोलाइनामा ९६ प्रतिशत मतको गन्ती भइसकेको छ र ट्रम्पको ७६,७३७ भोटको अग्रता छ ।
– ट्रम्पका प्रतिनिधिले जर्जियामा कानूनी कारवाही सुरु गरेका छन् । यो चौथो राज्य हो जहाँ उनको टीमले कथित अनियमितताको आरोप लगाएका छन् ।
– डेट्रोयट, मिशिगनमा दुबै उम्मेद्वारका समर्थकले प्रदर्शन गरेका छन् । यस्तै फिलाडेल्फिया, पेन्सिल्वेनियामा मतगणना केन्द्रको अगाडि डेमोक्रेट समर्थक जम्मा भएका छन् र ‘मेरो भोट गन’ को नारा लगाएका छन् । एरिजोनमा ट्रम्पका समर्थकले मतगणना केन्द्र बाहिर प्रदर्शन गरेका छन् र मतगणना बन्द गर्न माग गरेका छन् ।
– सिनेटमा रिपब्लिकन्सले आफ्नो पकड बलियो बनाएको छ जसका कारण कांग्रेसमा परिवर्तन हुने सम्भावना निकै कम छ । -बीबीसी
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७