काठमाडौं -नेपालमा नेगेटिभ आएको पिसिआर रिपोर्ट बिदेश पुगेपछि पोजेटिभ देखिन थालेपछि नेपालको परिक्षणमा शंका उत्पन्न हुन थालेको छ। नेपाल बायुसेवा निगमले ७२ घण्टासम्मको पीसीआर रिपोर्टका आधारमा विदेश उडाएका यात्रुहरुमा कोरोना संक्रमण देखिएपछि नेपाली ल्याबहरुको परिक्षण गुणस्तरमै प्रश्न उठेको छ ।
यता नेगेटिभ रिपोर्ट बोकेर विदेश उडेका यात्रुहरुको उता परिक्षण गर्दा संक्रमण पुष्टि भएको छ । संक्रमितलाई उडाएको भन्दै नेपाल एयरलाइन्स कारवाहीमा समेत परेको छ ।
‘विगत केही दिन देखी हङकङ्ग, दुवई, नारिता जस्ता गन्तव्यहरुमा ७२ घण्टाको पीसीआर रिपोर्टका बावजुद पनि ती स्थानहरुमा पुनः परिक्षण गर्दा कोभिड १९ संक्रमण पोजेटिभ देखिएकोले सम्बन्धित देशका निकायहरुले निगमलाई सचेत गराउनुको साथै कतिपय उडान गर्न समेत रोक लगाएको छ।
यसले गर्दा निगमलाई आर्थिक तथा प्रतिष्ठाको दृष्टिले ठूलो नोक्सानी पर्न गएको छ । यस्ता घट्नाहरुले निगमको मात्र नभई समग्र देशकै प्रतिष्ठामा नकारात्मक असर पर्नुको साथै नेपालका स्वास्थ्य प्रयोगशालाहरुको विश्वसनियतामै प्रश्न खडा गरेको पनि निगमले बताएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७