काठमाडौं । र्याप गायक भिटेन (समीर घिसिङ) लाई पक्राउ नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ। फौजदारी कसुरमा अभियोजन र अनुसन्धान गर्न पक्राउ गर्न सक्ने भएपनि गीतसंगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको भन्दै अदालतले यस्तो आदेश गरेको हो।
उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश जारी गरेको अदालतका प्रवक्ता शम्भु रेग्मीले बताए।
भिटेनले आफूलाई पक्राउ गर्न लागेपछि उच्च अदालत पाटन पुगेका थिए। उनले उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन दर्ता गराउँदै आफूलाई पक्राउ नगर्न आदेशको माग गरेका थिए।
भिटेनका तर्फबाट उच्च अदालतमा कात्तिक १६ गते निवेदन दर्ता गरिएको थियो। दसैं बिदा समाप्त भएर अदालत खुले लगत्तै उनले उच्चमा निवेदन दिएका थिए।
कात्तिक ८ गते भिटेनको युट्युब च्यानलमा सार्वनजिक गीतमा प्रयोग गरिएका शब्दहरुलाई लिएर उनको आलोचना भएको थियो। भिडियोमा उनले अश्लिल शब्दको प्रयोग र प्रहरीलाई गाली तथा आलोचना गरेका थिए।
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७