काठमाडौँ। आफ्नो मतदाताहरुको सूचना इरानी ह्याकरहरुले चोरी गरेको आरोप अमेरिकी अधिकारीहरुले लगाएका छन् । यसअघि आफ्ना हजारौं मतदाताहरुलाई ईरानी ह्याकरहरुले धम्कीपूर्ण इमेल पठाएको आरोप अमेरिकाले लगाएको थियो ।
यसरी धम्कीपूर्ण इमेल पठाउने ह्याकरहरुसँग अमेरिकी मतदाताकोे व्यक्तिगत सुचना रहेको खुलासा अमेरिकी अधिकारीहरुले गरेका हुन् । अमेरिकी गुप्तचर संस्था एफबिआई र सरकारी साइबर सेक्युरिटी एजेन्सी (सिआईएसए) का अनुसार ईरानी ह्याकरहरुसँग ‘कम्तिमा एउटा राज्यको मतदाता दर्ता नामावली’ छ । ‘कपी गरिएका रेकर्डहरु नियाल्दा यसमा समावेश सुचनाहरु नै प्रोपोगान्डा भिडियोमा राखिएको खुलेको छ,’ यी एजेन्सीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
एजेन्सीहरुका अनुसार ह्याकहरुले राज्यको निर्वाचन वेवसाईट स्क्यान गरेको प्रमाण फेला परेको छ । ती ह्याकरहरुले सुरक्षा कमजोरीको फाइदा उठाउनका लागि वेवसाइट स्क्यान गरेको उनीहरुले जनाएका छन् ।
गत साता फ्लोरिडा र अलास्कासहित अमेरिकाका धेरै राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भोट गर्न भन्दै मतदाताहरुलाई धम्कीपूर्ण सन्देश आएको थियो । ‘तिमीहरु ट्रम्पलाई भोट गर्नेछौं, नभए हामी तिमीहरुको पछाडि लाग्नेछौं,’ इमेलमा भनिएको थियो । यो इमेल उग्र दक्षिणपन्थी समूह प्राउड ब्वाईजका तर्फबाट आएको थियो । तर, गुप्तचरहरुका अनुसार खासमा यो प्राउड ब्वाइज नभएर इरानी ह्याकहरुको काम थियो । केही इमेलमा मतदाताको घरको ठेगाना समेत उल्लेख थियो ।
यता, इरान सरकारले भने अमेरिकाको यस आरोपको खण्डन गरेको छ । ईरानी विदेशमन्त्री सइद खातिबजादेहले हस्तक्षेपको आरोप झुठो रहेको प्रतिक्रिया दिएका छन् । ‘हामीले पहिल्यै भनेका छौं कि अमेरिकी चुनाव जोसुकैले जितेपनि इरानलाई फरक पर्नेवाला छैन,’ खातिबजादेहले भनेका छन् । अमेरिकामा मंगलबार भावी राष्ट्रपतिका लागि निर्णायक मतदान हुँदैछ । रिपब्लिकन पार्टीबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिकबाट जो बाइडेन चुनावी मैदानमा छन् ।
सन् २०१६ मा डेमोक्रेटिकतर्फकी उम्मेदवार हिलारी क्लिन्टनविरुद्ध अभियान चलाएको आरोप रुसमाथि लागेको थियोे । अमेरिकी गुप्तचर एजेन्सीहरुका अनुसार रुसी राष्ट्रपति भ्यालिमिर पुटिनको प्रत्यक्ष निर्देशनमा यो अभियान चलेको थियो । त्यसक्रममा रुसी ह्याकरहरुले अमेरिकी मतदाताहरुसम्म पहुँच पु¥याउँदै हिलारीविरुद्ध निरन्तर गलत सुचना र प्रोपोगान्डा फैलाउने गरेका गरेका थिए । यसले क्लिन्टनलाई विवादमा तान्यो र डोनाल्ड ट्रम्पलाई राष्ट्रपति बन्न सहज भयो । यसपटक पनि रुस र ईरानले हस्तक्षेप गर्नसक्ने भय अमेरिकालाई छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७