काठमाडौँ -पाँच महिनापछि पहिलोपटक आइतबार अस्ट्रेलियामा कोरोनाभाइरसका नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै सामाजिक दुरीका प्रतिबन्धहरु थप खुकुलो बनाउने बाटो खुलेको छ ।
अस्ट्रेलियामा कोभिड–१९ का कारण ज्यान गुमाएका ९०७ जनामध्ये ९० प्रतिशत रहेको भिक्टोरिया राज्यमा लगातार दोस्रो दिन शुन्य संक्रमण र शुन्य मृत्यु देखियो ।
स्वास्थ्यमन्त्री ग्रेग हन्टका अनुसार जुन ९ यता अस्ट्रेलियामा पहिलोपटक कोभिड–१९ को संक्रमण नदेखिएको हो । ट्वीटरबाट स्वास्थ्यकर्मीका साथै अस्ट्रेलियाका जनतालाई धन्यवाद दिए ।
अस्ट्रेलियाको स्वास्थ्य व्यवस्थालाई धरासयी बनाउन अघि नै संक्रमण नियन्त्रणका लागि लागू गरिएको उपाय र जनस्तरमा गरिएको नियमको पालनाका कारण त्यहाँ संक्रमण नियन्त्रणमा आएको छ ।
गत हप्ता भिक्टोरियामा १११ दिन लामो लकडाउन अन्त्य गरिएको थियो । जसलाई भिक्टोरियाका जनताले पनि समर्थन गरेका थिए । भिक्टोरियाका प्रमुख स्वास्थ्य अधिकारी ब्रेट सटनले आगामी दिनमा प्रतिबन्धलाई थप खुकुलो बनाउने संकेत गरे । तर, अझै पनि सर्तक रहनुपर्ने उनले सुझाव दिए ।
फ्रान्समा एक दिनमा ५० हजार संक्रमित फेला परिरहँदा र बेल्जियममा संक्रमितको उपचार गर्ने ठाउँ नभएर अन्य देशमा पठाउने पर्ने स्थिति आउँदा अस्ट्रेलियामा चाँडै अन्तर्राष्ट्रिय सीमा बन्द गर्दा र सामाजिक दूरीका नियम लागू गर्दा हालसम्म २७ हजार ५०० संक्रमित मात्र फेला परेका छन् ।
रोयटर्स
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७