काठमाडौँ। भारतको छत्तिसगढको बालोद जिल्लामा डेढ वर्षकी बालिकाको अनुहार र शरीरलाई चुरोटले पोलिदिने प्रहरी अधिकारी अविनाश रायलाई जागिरबाट बर्खास्त गरिएको छ ।
प्रहरीका अनुसार घटना कुन परिस्थितीमा भयो, त्यसको अनुसन्धान भइरहेको छ ।
बालोदका प्रहरी अधिक्षक जितेन्द्र मिणाले बीबीसी हिन्दीसँगको कुराकानीमा भने, ‘आरोपी प्रहरीलाई पक्राउ गरेर न्यायलयमा पेश गरियो । अभियुक्तलाई जागिरबाट बर्खास्त पनि गरिएको छ ।’
के हो आरोप ?
अभियुक्त अविनाश राय बालोद जिल्लाको सिवनीमा भाडामा बस्दथे । त्यहाँ उनी आफ्नो सामान लिन जाँदा राती घरबेटीकी डेढ वर्षकी बालिकालाई आफूलाई पापा भन्न लगाए ।
प्रहरीका अनुसार जब बालिकाले उनलाई पापा भनिन् तब अभियुक्तले उनलाई चुरोटल ठाउँ–ठाउँमा पोलिदिए ।
प्रहरीका अनुसार बिहिबार राती साढे १० बजे आसपास पीडित बालिकाकी आमाले बलोद प्रहरीले ऊजुरी दर्ता गरिन् ।
बालिकाले समयमै पाइनन् उपचारः
प्रहरीले बिहिबार रिपोर्ट दर्ता गरेको थियो तर प्रहरीका अनुसार शनिबार बेलुकासम्म बालिकाको कुनै उपचार हुन सकेको थिएन ।
घटना जब मिडियामा आयो तब शनिबार बालिकालाई उपचारका लागि बालोद जिला अस्पताल र त्यसपछि रायपुरको सरकारी अस्पताल पठाइयो तर रायपुरमा पनि अबेर सम्म बालिकाको उपचार सुरु हुन सकेको थिएन ।
बीबीसीका अनुसार रिपोर्ट दर्ता भएको भोलिपल्ट अर्थात् शुक्रबार बेलुका जवाहरलाल नेहरु अस्पतालमा बालिकाको उपचार गरिएको थियो ।
त्यहाँको दस्तावेजमा दिइएको सुरुवाती जानकारी अनुसार भात पकाउने बेला तातो पानीको छिट्टाले बालिकाको शरीरको केही हिस्सा जलेको थियो ।
अस्पतालको दस्तावेजमा पीडित बालिकाको नाम ठेगाना र जुन फोन नम्बर दिइएको छ, त्यो बर्खास्त प्रहरीकै बताइँदैछ ।
बर्खास्त प्रहरी अविनाश रायको परिवारको दाबी अनुसार शुक्रबार बेलुका अविनाश रायले नै बालिका र उनकी आमालाई लिएर अस्पताल पुगेका थिए, जहाँ बालिकाको उपचार गरियो ।
पीडित बालिकाकी आमा लोक गायिका हुन् र पछिल्लो थुप्रै वर्षदेखि विभिन्न संघ–संगठनसँग आबद्ध भएर काम गरिरहेकी छिन् ।
पीडित बालिकाका पिता नागपुरमा बस्छन् र बालिका आफ्नी आमासँग बस्छिन् ।
पीडित बालिकाकी आमाले भनिन्, ‘यसै वर्ष जून १९ मा मेरी १४ वर्षकी छोरीले झुण्डिएर आत्महत्या गरेकी थिइन् । त्यसपछि अब कान्छी छोरीमाथि पनि यस्तो भयो । ’
उनले उपचारका लागि आरोपीसँग शुक्रबार नै अस्पताल पुगेको स्विकार गरिन् ।
आमाले बालिका जलेको विषयमा सुरुमा भातको माड पोखिएका कारण बालिका जलेको बताएकी थिइन् तर पछि बर्खास्त प्रहरीले रक्सीको नशामा चुरोटले बालिकालाई पोलिदिएको स्विकार गरे ।
सामाजिक कार्यकर्ता र उच्च न्यायलयकी वकिल प्रियंका शुक्लाले आफू पीडित पक्षसँग लगातार सम्पर्कमा भएको र यो मामिलामा विभिन्न प्रकारको कुरा सार्वजनिक भइरहेको बताएकी छिन् ।
उनले भनिन्, ‘यो मामिलामा थुप्रै प्रश्नहरु छन् तर कुनै पनि निष्कर्षमा पुग्नु अहिले नै हतार हुनेछ । यसका लागि गम्भीरतासँग अनुसन्धान हुन जरुरी छ । सरकारले आरोपीलाई बर्खास्त गरेको छ, यो स्वागतयोग्य कदम हो ।’
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७