संयुक्त राष्ट्रसंघले फ्रान्समा बिहीबार भएको आतंककारी हमलाको कडा शब्दमा निन्दा गरेको छ ।संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले सो हमलाको निन्दा गरेका हुन् । उनका प्रवक्ता स्टेफन डुजारिकद्धारा जारी विज्ञप्तिमा महासचिव गुटर्रेसले त्यसको विरोध गरेका जनाएको छ ।
फ्रान्सको निस सहरमा बिहीबार चक्कुले हमला गरी एकजना व्यक्तिले तीन जनाको हत्या गरेको थियो । पछि उसलाई पनि पक्राउ गरिएको बताइएको छ ।चक्कुले हमला गरी गरेको सो हत्या आतंककारी हमला हो भन्दै महासचिव गुटर्रेसले त्यसमा संलग्न भएका व्यक्तिलाई जतिसक्दो कडा कारबाही गरिनुपर्ने धारणा राखे।
फ्रान्सको निस सहरमा रहेको एक चर्चमा बिहीबार चक्कु प्रहार गरी तीन जनाको हत्या गरिएको थियो । सो हमला आतंककारीद्धारा गराइएको हमला हो भन्दै यस्ता घटनाका दोषीदाई कानुनी कारबाहीको दायरामा ल्याइनुपर्ने उनले बताए ।
महासचिव गुटर्रेसले मृतकहरुका आफन्तहरुलाई समवेदना पनि प्रकट गरेका छन्। साथै उनले आतंककारीका विरुद्धको संघर्षमा संयुक्त राष्ट्रसंघ सधैँ फ्रान्सेली सरकारको साथमा रहेको पनि बताए ।
फ्रान्सको उक्त निस सहरमा यसअघि पनि आतंककारी हमला भएको थियो । त्यसमा परेर कैयौं नागरिकको ज्यान गएको थियो । फ्रान्सको निस सहरमा भएको ‘आतंकवादी’ हमलाका आक्रमणकारी यही महिनामात्र फ्रान्स आइपुगेको खुलासा भएको छ । २१ वर्षीय टुनिसियिन मूलका ब्राहिम औसाउई गत महिना शरणार्थीको डुङ्गा चढेर युरोप प्रवेश गरेका बताइएको छ ।
प्रत्यक्षदर्शीका अनुसार १२ इन्च लामो धारिलो हतियार लिएर उनी नोट्रे डाम चर्चमा प्रवेश गरेका थिए । उनले त्यहाँ एक वृद्ध महिलाको टाउको काटेका थिए । त्यसपछि उनले ५४ वर्षीय भिन्सेन्स लोक्वेसको हत्या गरेका थिए । आक्रमणबाट घाइते बनेकी ४४ वर्षीया सिमोन बरोटा सिल्भा त्यहाँबाट भागेर नजिकैको रेस्टुरेन्टमा पुगेकी थिइन् । त्यहाँ उनले ज्यान गुमाइन् ।
‘अल्लाह हु अकबर’ भन्दै आक्रमणमा उत्रिएका ब्राहिमलाई प्रहरीले १४ राउन्ड गोली प्रहार गरेको थियो । प्रहरीले उनलाई नियन्त्रणमा लिएर अस्पतालमा भर्ना गरिएको जानकारी दिएको छ ।
प्रहरीका अनुसार ब्राहिम करिब ६ः३० बजे बिहान रेलबाट सहर प्रवेश गरेका थिए । सीसीटिभी फुटेजका अनुसार त्यसपछि कपडा बदलेल उनी ८ः३० बजे चर्च पुगेका थिए जहाँ उनले आधा घण्टा बिताएका थिए ।
ब्राहिम गत सेप्टेम्बर २० मा इटालीको टापु लाम्पेडुसा आइपुगेका थिए । पेरिसमा उनी गत अक्टुबर ९ मा आइपुगेका थिए । चार्ली हेब्डो नामक पत्रिकाले प्रोफेट मोहम्मदको कार्टुन प्रकाशित गरेपछि अलकायदाले ‘जिहाद’ छेड्ने बताउँदै थप आक्रमण गर्ने चेतावनी दिएको थियो । केही दिनअघि मात्र उक्त कार्टुन विद्यार्थीहरुलाई देखाएको आरोपमा एक शिक्षकको विभत्स हत्या गरिएको थियो । फ्रान्समा यतिबेला सम्भावित आतंकवादी हमलालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाइको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७