काठमाडौँ। पुलवामा हमलाबारे आफूले दिएको अभिव्यक्तिको गलत अर्थ लगाइएको भन्दै मन्त्री फवाद चौधरीले पाकिस्तानले आतंकवादलाई कहिल्यै पनि साथ नदिने बताएका छन् ।
‘मेरो वक्तव्य स्पष्ट छ, त्यो भारतले बालकोटमा पाकिस्तानी भूमिमा प्रवेश गरेपछि अपरेशन स्वीफ्ट रिसोर्टबारे थियो । मैले पुलवामा हमलापछि पाकिस्तानले गरेको अपरेशनको बारेमा बताएको थिएँ,’ एनडीटिभीसँग कुरा गर्दै उनले भने ।
यसअघि, ४० जना सीआरपीएफ जवानको ज्यान जाने गरी जम्मु र कश्मिरको पुलवालामा गत वर्ष भएको आतंकवादी हमलामा पाकिस्तानको हात रहेको संकेत गरेपछि त्यसले ठूलो विवाद सिर्जना गरेको थियो ।
‘हामीले भारतलाई उनीहरुको घरमा छिरेर हमला गर्यौँ । पुलवामामा हाम्रो सफलता, इमरान खान सरकारको नेतृत्वमा हाम्रो जनताको सफलता हो । हामी सबै यो सफलताको हिस्सा हौँ,’ चौधरीले राष्ट्रियसभामा भनेका थिए ।
सभामा यस अभिव्यक्तिको विरोध भएपछि उनले आफ्नो वयानलाई सच्याउँदै ‘पुलवामा हमलापछि जब हामीले भारतमा पसेर कारवाही गर्यौँ’ भनेका थिए ।
पछि ट्वीट गदै उनले पाकिस्तानले भारतको सैन्य अखाडामा गरेको हमलाको बारेमा बोलेको र पाकिस्तानले निर्दोष मारिएकोमा आफ्नो बहादुरी नदेखाउने र आतंकवादको विरोध गर्ने बताएका थिए ।
गत वर्षको १४ फेब्रुअरीमा पुलवामा भएको आत्मघाती आतंकवादी हमलापछि भारतले पाकिस्तानको बालाकोटमा रहेको आतंकवादीको क्याम्पमा हवाइ हमला गरेको थियो । जवाफमा पाकिस्तानले पनि भारतीय भूमिमा फाइटर जेट पठाएको थियो ।
त्यसक्रममा लाइन अफ कन्ट्रोलमा पाकिस्तानी फाइटर जेटले भारतीय सैन्य विमानलाई खसालेको थियो । पाकिस्तानका सैनिकले विंग कमान्डर अभिनन्दन वर्तमानलाई पक्राउ गरेको थियो । उनलाई दुई दिनपछि रिहा गरिएको थियो ।
एनडीटिभी
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७