वैश्विक महामारीका रुपमा फैलिएको कोरोना कहरका कारण यसपटक काठमाडौंको दशैँबजार त्यति तातिएन । विगत वर्षहरूको जस्तो न तामझाम देखियो न उत्साह नै । यो दशैँ जो नेपालीहरूको महान चाड हो । चुपचाप आयो र चुपचापै बिदा हुने तर्खर गरिरहेको छ । तर दशैँले तताउन नसकेको काठमाडौंको माहोल भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालाइसिस विंग (रअ) का प्रमुख सामन्तकुमार गोयलको भ्रमणले एक्कासि तताई दियो । वायुसेनाको विमानबाट दलबल सहित आएका समान्तकुमारले खासगरि हाम्रा जननिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई मध्यरातमा घण्टौँ कुरा गरेको विषयले यसपटक काठमाडौंको राजनीतिक सारगर्मि बढाइदिएको ।
एउटा सार्वभौम र स्वतन्त्र देशका प्रधानमन्त्रीसँग एक्ला एक्लै अर्को देशको खुफिया एजेन्सीका प्रमुखले गुप्त रुपमा भेट गरेको विषय आफैँमा असंगतियुक्त छ । सायद त्यहीभएर यतिधेरै विरोध भएको होला । इतिहासको कुनैपनि कालखण्डमा कसैको दासत्व स्वीकार नगरेको हाम्रा लागि स्वाभिमान र स्वतन्त्रता भन्ने कुरा यति प्रिय छ त्यसमा कहिँ कतैबाट ठेस लागेको हामी कसैले सहन गर्ने विषय होइन । केपी शर्मा ओली हिजोको जस्तो कुनै पार्टीको नेतामात्रै होइनन् जसले जतिबेला चाहुन जुनकुनै होटलको कुनामा कुनैपनि देशका जासुसहरुसँग चोचोमोचो लाउन ।
ओली आज बहुसंख्यक नेपाली जनताको अभिमतबाट निर्वाचित सार्वभौम देशका प्रधानमन्त्री हुन् । फेरि यो कुरा पनि बुझ्न जरुरी छ कि ओलीले आज जनताको जुन अभिमत र सदभाव पाएका छन् त्यो त्यही स्वाभिमानको झण्डा उठाएका कारण थियो । नेपाली जनतालाई देशको स्वाभिमान र प्रतिष्ठा कति प्रिय छ भन्ने कुरा ओलीले एकपटक थामेको स्वाभिमानको झण्डाले यतिधेरै अभिमत पाएबाट प्रष्ट हुन्छ । कहिले घाम नडुब्ने बिट्रिस साम्राज्यसँग हाम्रा पुर्खाले लडेर जोगाएको यो स्वाभिमान विशाल चीनसँग पूर्वजहरूले लडेरै जोगाएको यो भूमि आज कुनैपनि बिदेशको बलिवेदीमा चढाउन खोज्दा असैहय हुनु स्वाभाविकै हो । तर यो सबै पृष्ठभूमिका बावजुत प्रधानमन्त्री केपी ओलीले रअ प्रमुख सामन्तकुमारसँग आफ्नै निवासमा गोप्य भेट गरेपछि सर्वत्र आलोचना भइरहेको छ । ओलीका विरोधी र सामान्य नागरिक मात्रै होइन उनकै पार्टीका महत्वपूर्ण नेताहरूले समेत एकपछि अर्को गरि यस भेटको खुल्लम खुल्ला विरोध गरेका छन् ।
त्यतिमात्रै होइन पार्टीका आधिकारिक एकमात्र प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत यो लज्जाको विषय हो भनेपछि सामान्तकुमारको ओलीसँगको गोप्य मन्त्राणाले नेपाली राजनीतिक तरंगित गरिरहेको छ । यद्यपि पार्टीका नेता एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले सामान्तकुमारसँग रअ प्रमुखका रुपमा भन्दा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुतका रुपमा भेटघाट गरेको र त्यसको सबै टिपोट परराष्ट्र मन्त्रालयसँग सुरक्षित रहेको दावी गरेका छन् । दावी यस मानेका कि यो भेटका बारेमा अहिले सम्म प्रधानमन्त्रीको तर्फबाट कुनै आधिकारिक धारणा सार्वजनिक भएको छैन । यदि त्यो दावी सत्य हो भने त्यो भेटमा प्रधानमन्त्रीका अलावा अन्य को को मन्त्रीको सहभागिता रह्यो ? उच्च पदस्थ अधिकारी नेपालका तर्फबाट को को सहभागी रहे ? आफ्ना दुतका रुपमा आएका सामान्तकुमारले के भारतीय प्रधानमन्त्रीको तर्फबाट के प्रस्ताव राखे ? हाम्रो मिचिएको भूमि फिर्ता गर्नेबारे भारतको के के सर्त रहेका छन् ? आजको लोकतन्त्रमा आम नेपालीले माथिका सबै प्रश्नहरूको एक एक जवाफ मागिरहेका छन् । त्यसको यथोचित सम्बोधन गर्नु जननिर्वाचित सरकार हुनुको नाताले सरकारको कर्तव्य हुन आउँछ ।
पृष्ठभूमि यस्तो रहेको भएपनि एउटा कुरा हामी सबैले बुझ्नुपर्ने आवश्यकता के हो भने के नेपाल र भारतको सम्बन्ध सधै अवरुद्ध नै रहिरहनुपर्छ त ?र यसरी दुई देश बिचको सम्बन्ध अवरुद्ध भइरहदा कसलाई के फाइदा हुन्छ र ? यो सम्बन्ध जहाँ सरकार सरकारको तहमा मात्रै होइन आम जनताको तहमा पनि सदियौँ देखि प्रगाढ रहेको छ । भारत एउटा देशका रुपमा बन्नु अघिदेखिनै भारत र नेपालका बिच गहिरो सम्बन्ध रहेको कुरा आज कसैले नकार्न सक्ने अवस्था छैन । भारतीयहरूले पुज्ने पवित्र गङ्गाको श्रोतका रुपमा हाम्रा हिमालहरू रहेका छन भने पशुपतिनाथ र तिरुपति बिच पनि उस्तै सम्बन्ध रहेको छ । अझ भनौँ एउटा भारतीय पशुपतिनाथको दर्शन गर्न झोली तुब्वा बोकेर सदियौँ देखि नेपाल धाइरहेको छ भने तिरुपति देखि कैयन धामहरुको दर्शनका लागि नेपालीहरू आफ्नो तीर्थ यात्राका लागि भारत पस्ने गर्छन । लाखौ नेपाली भारतमा रोजीरोटी कमाइरहेका छन भने लाखौ भारतीयहरू नेपालमा काम गरेर आफ्नो रोजीरोटी कमाइरहेका छन् । त्यसैले त यो सम्बन्धलाई रोटी बेटीको सम्बन्ध भनिएको होला । हाम्रो नेतृत्वको दूरदर्शिताको कमीले भनौँ आज पनि हामी हरेक कुरामा भारतको भर पर्नुपर्ने अवस्था रहेको छ । सुन फल्ने हाम्रा गरा बाजै राखेर भारतबाट हामी करोडौँको कागती र गोलभेडा किनिरहेका छौ ।
अर्बौँको फलफूल र तरकारी किनिरहेका छौ भने त्यतिकै आँकडामा अन्य खाद्यान्न पनि उतैबाट आयात गरिरहेका छौँ । समग्रमा पछिल्लो आर्थिक वर्ष ०७६ /०७७मा मात्रै हामीले २ खर्ब ४३ अर्बको कृषि वस्तुमात्रै आयात गरेको सरकारी रेकर्डले बताइरहेको छ । यो सबै बुझेका, देखेका भारतीयहरू आफूले रोकिदिए नेपालको दानापानी बन्द हुने बताइरहेका हुन्छन् । यसमा भारत र भारतीय मित्रहरूको आलोचनाबाट छुब्ध हुनुपर्ने केही कारण छैनन् बरु देशकै माटोमा कमगर्ने वातावरण बनाउँदै आफ्नै माटोमा फलाएर त्यसको जवाफ दिन सक्नुपर्ने हो । हाम्रा पुर्खाहरूले जसरी यो भूमिमाथि कसैको गिद्धे नजर पर्न दिएनन् । त्यसरी एक छाक खान र एकसरो शरीर ढाक्न त्यो बेलाको अवस्था अनुसार गर्न कसैको भरमा बाँचेनन् । बरु आफ्नै माटोमा संघर्ष गरे । धेरै अगाडि पनि किन जानुपर्यो केही दशक पहिले मात्रै पनि हामी कहाँ उत्पादन भएको खाद्यान्न विश्वका बिभिन्न देश जाने गरेको थियो । तर आज बोक्रामा राष्ट्रियताको चर्को कुरा गर्नेले हाम्रो जनशक्तिलाई अरबको रेतमा बेचेर खाद्यान्न जति भारतबाट किनिरहेको छ । यसरी कसरी वास्तविक स्वाभिमान उच्चो होला यसै भन्न सकिने अवस्था छैन ।
यहाँनिर फेरि मनन गर्नुपर्ने विषय के छ भने भारतबाट जे हामी कहाँ आयात भइरहेको छ त्यो भारतले कुनै दया मायामा बक्स दिएको चाहिँ होइन । त्यसैले हामीले सियो देखि गाडी सम्म भारतबाट खरिद गरिरहेका छौ भनेर हीन भाव राख्नुपर्ने अवस्था पनि छैन । किनभने आजको खुल्ला बजारमा आवश्यकताका वस्तुहरू निर्धारण गरिएको मूल्य चुक्ता गरेर विश्वको कुनैपनि ठाउँबाट किन्न सकिन्छ । भारतले हामीलाई सामान बेचेर आफ्नो व्यापार गरिरहेको छ । आजको विश्वको यस्तो सिन्डीकेट सहितको बजार पाउँनु पनि कम सौभाग्यको कुरा होइन । जुन सौभाग्य कैयन वर्षदेखि भारतलाई निरन्तर उपलब्ध रहेको छ । तथ्यांक अनुसार भारतले रेमिट्यान्स कमाउने देशहरूमा नेपाल आठौँ स्थानमा रहेको छ भने नेपालसँगको व्यापारमा पनि भारतलाई अतुलनीय फाइदा भइरहेको छ । र भारतले वर्षमा ९ खर्बको सामान नेपाललाई बेचिरहेको छ । अब भन्नुहोस् आजको खुल्ला बजारमा नेपाललाई सामान किन्न भारतमात्रै आवश्यक नहुन सक्छ । तर भारतले यतिका ठुलो एकछत्र बजार पाउन समस्या नै होला ।
त्यसैले दुईदेशको सम्बन्ध बिग्रिँदा नेपाललाई मात्रै घाटा हुने होइन आर्थिक दृष्टिकोणले हेर्ने हो भने नेपाललाई भन्दा सम्बन्ध बिग्रिँदा भारतलाई बढि घाटा हुने तथ्यांकले प्रष्ट गरिरहेका छन् । र नेपाली मात्रै भारतमा रोजगारी गरिरहेका छैनन् लाखौ भारतीयहरू नेपालमा काम गरिरहेका छन त्यसैले काम गरेबापत जाने रेमिट्यान्स विश्वका अन्य देशबाट आउने रेमिट्यान्सको तुलनामा निकै माथि रहेको छ । जस्तो हामीले माथिनै भन्यौ नेपाल भारतका लागि रेमिटयान्स बाहक देशहरू मध्ये आठौँ महत्वपूर्ण देश हो । जबकि विश्वका ५० औँ देशमा भारतीय कामदार आफ्नो श्रम बेचिरहेका छन । त्यसैले यो खुल्ला बजारको युगमा हामीले मात्रै भारतमा काम गरिरहेका छौ । हामी मात्रै भारतको भरशोमा रहेका छौ ।आकडाहरुले त्यो सत्य होइन भनिरहेका छन् । स्वभाविक रुपमा भारत ठुलो अर्थतन्त्र हो उसलाई हामीबाट हुने घाटा पुर्ताल गर्ने अनेकन बाटा र विकल्पहरू छन तर हामीले आज सम्म भारतसँगको सम्बन्ध बिग्रिँदा सबै कुरा सहज हुने विकल्प र बाटाहरू तयार गरेनौ । हामी त्यसमा आज सम्म पनि चुकिरहेका छौ त्यो हाम्रा लागि गम्भिर गल्तीको विषय हो । उल्लेखित तथ्य र आकाडाहरुले भनिरहेको छ नेपाल र भारतबीचको सबन्ध थप बिग्रिँदा दुवै देशलाई फाइदा छैन । भनिन्छ हामी सबै कुरा बदल्न सकौंला तर छिमेकी बदल्न सक्दैनौ । त्यसैले भारत र नेपालका बिचमा रहेको मनमुटावको तत्काल समाधान निकाली अवरुद्ध रहेको संवाद पुनः सुचारु गरि वार्ताद्वारा समस्याको समाधान गर्नुको कुनै अर्को विकल्प छैन ।
आज नेपालले हाम्रो आफ्नो मिचिएको भूमि ससम्मान फिर्ता गरिदिन आग्रह गरिरहेको छ । भारतले गरिरहेको दावाको पनि सम्मान गर्दै वार्ताको टेबलमा बस्न र तथ्य प्रमाणहरू प्रस्तुत गरि सोही आधारमा निष्कर्षमा पुग्न पनि नेपालले भारतसमक्ष बारम्बार आग्रह गरिरहेको छ । अवरुद्ध रहेको संवाद शृंखला सुचारु गर्न भारतीय प्रधानमन्त्रीको दुतका रुपमा सामन्त कुमार नेपाल आएको र सोही टुटेको संवाद जोड्ने सेतुका रुपमा हाम्रा प्रधानमन्त्रीले उपयोग गरेको भएपनि त्यसमा आकाशै खसेको झै गरिहाल्नुपर्ने अवस्था छैन । सकारात्मक परिणामका लागि गरिएको खुसामत हो भने त्यसका लागि हामीले पर्खिनुपर्ने हुन्छ । सकारात्मक परिणामको अर्थ यदि लामो समय देखि गुमेका हाम्रा भूगोलबारे लिम्पियाधुरा, लिपुलेक र कालापानी ससम्मान फिर्ता हुन्छन भने हाम्रा प्रधानमन्त्रीले जोसँग भेट गर्दा पनि त्यसमा स्तर र मर्यादाक्रमको अर्थ गरिरहनु नपर्ला तर भूमि फिर्ताको एजेण्डा थाती राखी सत्ता र शक्तिको निरन्तरको निजी एजेण्डा मात्रै हो भने त्यो भन्दा जनमतमाथिको धोका अर्को केही हुने छैन ।
प्रधानमन्त्रीले सामान्तकुमारसँग गरेको भेटले के परिणाम ल्याउला त्यसको के उद्देश्य थियो त्यो त समयक्रममा खुल्दै जाला तर यति नै बेला भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणे नेपाल आउँदैछन् । स्थलसेना अध्यक्षको भूमिकामा रहेका नरवणे परम्परागत रुपमा दुईदेशको सेनाले एकअर्कोलाई गर्ने सम्मान ग्रहण गर्न नेपाल आउन लागिरहेका छन् । नरवणेको भ्रमणको पूर्वसन्ध्यामा नेपाली समाजले उनको त्यो भ्रमणलाई पनि राजनीतिक रङ्ग दिएर अनेकन विवादहरू खडा गरिरहेको देखिन्छ । सेना दुवै देशका महत्वपूर्ण संगठन हुन ।
आजको भारतमा स्थल सेनाध्यक्षको जे भूमिका हुन्छ सायदै त्यो अन्य संगठनको होला । छिमेकी पाकिस्तान र चीनसँग आफ्नो सीमाका लागि लडिरहेको भारतीय सेनालाई त्यहाँको संस्थापन पक्षले मात्रै होइन आम जनताले पनि सम्मानको दृष्टिकोणले हेर्ने र सोही अनुसार व्यवहार गर्ने गर्दछन् । त्यस्तै नेपाली सेना त झन हाम्रो मुलुक निर्माणको साझी र सहभागी हो । नेपाली सेनाको इतिहास हाम्रो देशको जतिनै छ । अझ भनौँ आजको सङ्ग्लो नेपाल निर्माणका लागि सेनाकै भूमिका रहेको छ । र हामी सबै नेपालीले आजको दिनमा पनि सबैभन्दा बढि भरोसा गर्ने सङ्गठनका रुपमा यही नेपाली सेनालाई लिने गरेका छौ । इतिहासका कैयन अप्ठ्यारा जङ्चरहरुमा बैरीहरूसँग जीवन मरणको लडाइ लडेर, जीवन आहुति दिएर यो मातृभूमिको रक्षा गर्ने सेना साँच्चिकै यो देशको रक्षाकवच हो । सेना स्वयं राज्यको अंग हो र वैधानिक सरकारको भरोसायोग्य सारथी पनि ।
यसको अर्थ देशको सार्वभौम सत्ता रक्षाका लागि जति उसको दायित्व छ ठिक अन्य देशसँग सम्बन्ध बिस्तारका लागि पनि सरकारको इच्छा र आज्ञामा उसले महत्वपूर्ण भूमिका खेल्न सक्छ । नेपाली सेनाको औपचारिक निमन्त्रणामा नेपाल आउन लागेका नरवणे मूलतः मानर्थ जर्नेलको उपाधि ग्रहण गर्न आइरहेका छन् । लामो समयदेखि दुवै देशबीच चलिरहेको यो परम्परा बमोजिम नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापाले साढे १ वर्ष पहिलेनै यो उपाधि ग्रहण गरिसकेका छन् । दुइ सेना बिचको यो भाइचारा आजको होइन यो धेरै लामो समय देखि चलिरहेको सम्बन्ध हो । राजनीतिक स्तरले नसुल्झिएका कैयन यस्ता विषयहरू सेनाको स्तरबाट अर्थात सैनिक कुटनीतिका माध्यमद्वारा पनि समाधान भएका उदाहरण हामीले निकट विगतमै पनि पाएका छौ । जस्तो भुकम्पले आहत भएको नेपाललाई भारतले लगाएको नाकाबन्दी राजनीतिक नेतृत्वले खुलाउन नसकिरहेको परिप्रेक्ष्यमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको पहलमा खुलेको सबैलाई जानकारी छ । क्षेत्रकै पहलमा त्यो सम्बन्ध सुधार भएपछि तत्कालीन प्रधानमन्त्रीको रुपमा केप ओलीले भारतको भ्रमण गरेको इतिहास पनि हामीसँग छँदैछ । नरवणेको भ्रमणलाई बढ्ता राजनीतिकरण गर्नुको साटो सैनिक सम्बन्धकै तहमा त्यसलाई छोडिदिँदा सबैको कल्याण हुन्छ ।
दुवै सेनाको इतिहास देखिको भाइचारालाई कायम राख्दै यो सम्मानको आदान प्रदानले पक्कै पनि नेपाल भारत बिच अवरुद्ध सम्बन्धमा आइसब्रेक हुन सक्छ । हामीले माथिनै पनि चर्चा गर्यौ कि नेपाल भारत बिच सम्बन्ध बिग्रिएर कसैलाई फाइदा छैन । यो सम्बन्धको सुधार गर्न ढिला भइसकेको छ । हामीले हाम्रो मिचिएको भूमि फिर्ता गर्न आग्रह गरिरहेका छौ । हामीलाई थाहा छ त्यो मिचिएको भूमि भारतसँगको वार्ताको माध्यमबाट भन्दा अन्य तरिकाले फिर्ता गराउन सक्ने सम्भावना निकै कम छ । वार्ता गर्नका लागि बिग्रिएको सम्बन्ध सुधार गर्नु नै उत्तम विकल्प हुन्छ । आजको दिनमा भारतका लागि नेपाल चुनौति होइन । भारतको आफ्ना अन्य छिमेकी चीन र पाकिस्तानसँग निरन्तर सम्बन्ध बिग्रिरहेको छ ।
भलै जागरि नै खाएको भएपनि हजारौँ नेपालीहरूले हिजो पनि भारतका लागि आफ्नो जीवन अर्पण गरेका छन र आज पनि भारतको विवाद कसैसँग हुँदा भारतको भूमि रक्षाका लागि फ्रण्टलाइनरका रुपमा गोर्खा रेजिमेन्टका रुपमा नेपाली आमाका छोराहरु नै अघि सर्ने गरेका छन् । त्यस्तो अतुलनीय योगदानको समेत कदर गर्दै भारतले नेपालसँग संवादका लागि हात बढाउन ढिला गर्नु हुँदैन । नेपाली सेना स्वाभाविक रुपमा हाम्रो सार्वभौम सत्ताको रक्षाका लागि सधैँ गम्भिर छ । यदि यो भेटमा हाम्रा प्रधानसेनापतिले हाम्रो देशको तर्फबाट कुरा राखे भने पनि देशको हित भन्दा एक इन्च दायाँ बायाँ जाने कुरा कसैले कल्पना गर्न सक्दैनन् । फेरि यो रअ प्रमुखसँग प्रधानमन्त्री प्रधानमन्त्रीले भेटेजस्तो कुनै अप्रत्याशित र गोप्य भेट पनि त होइन । त्यसैले दुई सेनाको मात्रै होइन सेनाका माध्यमबाट दुई देशकै बिचमा सम्वध सुधारको जुन यो मौका छ त्यसलाई नेपालीले खुल्ला दिलले स्वागत गर्न आवश्यक छ । बिवादका बेला कसले के बोलेका थिए भनेर रेकर्ड राखेर बस्नुको सट्टा सम्बन्ध सुधार गर्दै अवरुद्ध संवादलाई पुनः थालनी गरेर हाम्रो स्वार्थको हात माथि गर्नु नै नेपालका लागि बुद्धिमानी हुने हो ।
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०७७