बैतडी। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बैतडीको पाटन बजार क्षेत्र सिल गरिएको छ । यस्तै देहिमाडौँ बजार बन्द गरी सवारी आवागमनमा रोक लगाइएको छ । पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दुईदिनका लागि सिल गर्ने निर्णय गरेको हो ।
शनिवार बिहान १० बजेदेखि आइतबार अपरान्ह ४ बजेसम्म पाटन बजार क्षेत्र सिल गर्ने निर्णय भएको हो । पाटनस्थित उदयदेव मन्दिरमा लाग्ने महाअष्टमी र महानवमीमा बलिसहित लाग्ने मेलालाई मध्यनजर गरेर बजार क्षेत्र सिल गर्ने निर्णय भएको नगरप्रमुख चन्दले बताए । यो वर्ष कोरोनाको जोखिमका कारण बलिमा रोक लगाइएको हो । उक्त निर्णयको कसैले उल्लंघन गरेमा ५ हजार जरीवाना गर्ने निर्णय समेत भएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०७७