यदि तपाईंले भर्खरै फेसबुक म्यासेन्जर एप अपडेट गर्नु भएको छ भने पक्कै पनि केही न केही परिवर्तन भएको अवश्य महसुस गर्नु भएकै होला । फेसबुकले निलो र सेतो कलरमा रहेको यस अघिको लोगोमा केही नयाँ कलर थपेको छ ।
कम्पनीका अनुसार भविष्यको म्यासेजिङको प्रतिबिम्बको रुपमा नयाँ लोगो ल्याइएको हो । जसले थप गतिशील, रमाइलो र मानिसहरूसँग नजिक रहन इन्टिग्रेटेड फिचरलाई समग्र रुपमा अभिव्यक्त गरेको छ ।
पछिल्लो समय कम्पनीले भिडियो कन्फरेन्सको लागि रुम, इन्स्टाग्रामसँगको इन्टिग्रेसन लगायतका थुप्रै नयाँ फिचर म्यासेन्जरमा थप गरिरहेको छ । नयाँ लोगोसँगै कम्पनीले प्रयोगकर्ताको च्याटलाई थप रङ्गमय बनाउन सकिने गरी च्याट थिम पनि रोलआउट गरेको छ ।
यसका साथै थप फिचर चाँडै आउने बताइएको छ । जसमा सेल्फी स्टिकर र भेनिस मोड समेत रहेका छन् । यसले प्रयोगकर्तालाई निश्चित समयपछि म्यासेज स्वतः आफै बिलाउने गरी सेट गर्न सकिने सुविधा समेत दिने छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७