काठमाडौं। मटर तस्करी रोक्न खोज्दा कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक -असई_ गोविन्द बिक र जवान रामबहादुर साउदको हत्या भएको खुलेको छ।
घटनामा संलग्न भएको आशङ्कामा पक्राउ परेका ७ जनाले बिक र साउदको हत्या गरेको स्वीकार्दै तस्करीमा अवरोध गरेकै कारण घटना भएको उल्लेख गरेका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक -एसएसपी_ मुकेश सिंहका अनुसार घटनामा संलग्न हुनसक्ने आशंकाका आधारमा समातिएका १३ जनामध्ये ६ जनाको संलग्नता देखिएको छैन। अन्यले भने अभियोग स्वीकारेका छन्।
शनिबार राति बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि गएका वेला असई बिक र जवान साउद तस्कर समूहको निशानामा परेका थिए। विकको शव आइतबार मोहना नदीमा भेटिएको थियो भने साउदको भेटिएको थिएन।
सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीका अधिकारीहरूले खोज्दा पनि शव नभेटिइरहेका वेला पक्राउ परेका अभियुक्तले दुवैको हत्या स्वीकारेपछि खोजीलाई थप साँघुरो बनाइएको थियो। यसक्रममा विकको शव भेटिएको स्थानबाट २ सय मिटर उत्तर–पूर्वतर्फ मंगलबार साउदको शव भेटिएको थियो।
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७