काठमाडौँ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज (सोमबार) देखि खसीबोका बिक्री गर्ने भएको छ । बजारमूल्यको तुलनामा संस्थानले प्रतिकिलो करिब १०० रुपैयाँ सस्तोमा खसी बेच्ने निर्णयसमेत गरेको छ ।
दसैंलाई लक्ष्य गरी खाद्यले हरेक वर्ष खसीबोका तथा च्यांग्रा बिक्री गर्दै आएको छ । खाद्यले बिक्री गर्ने खसीबोकाको संख्या न्यून रहे पनि मुख्य उद्देश्य बजार हस्तक्षेप अर्थात् मूल्य नियन्त्रण गर्न रहेको खाद्य कम्पनीका बिक्रीवितरण विभाग प्रमुख भीम थापाले बताए ।
कम्पनीले यसपालि ३ हजार खसीबोका र च्यांग्रा बिक्री गर्ने लक्ष्य राखेको थियो । त्यसमा कोभिड–१९ को बढ्दो संक्रमणका कारण एक हजार संख्या घटाएको थियो । त्यसमा पनि एक हजार च्यांग्रा ल्याउने योजना बनाएको थियो । त्यो पनि सम्भव नभएपछि एक हजार खसीबोका मात्रै बिक्री गर्ने भएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७