काठमाडौँ। बागलुङको बडिगाड गाउँपालिकाले खानेपानीको समस्या रहेको वडा नं। १० को दर्लिङमा रू ३९ लाख ७८ हजारको लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ ।
नेपाल स्वास्थ्यका लागि पानी सँगको सहकार्य र स्थानीयवासीको श्रमदानमा ४१ घरमा एक–एकवटा धारो जडान गरिएको हो । सो आयोजनाका लागि नेवाको रू २६ लाख ३१ हजार, स्थानीय उपभोक्ताको रू १० लाख ३८ हजार र गाउँपालिकाको रू ३ लाख आठ हजार व्यहोरिएको उपभोक्ता समितिका अध्यक्ष सन्तबहादुर रासकोटीले वताए ।
उक्त आयोजनाले पात्ले झाँक्रीस्थानका ४२ घरधुरीमा शुद्ध खानेपानी पुर्याएको छ । वर्षौ अघिदेखि स्थानीयवासीले खानेपानीको समस्या झेल्दै आएकामा अहिले प्रत्येक घरमा शुद्ध खानेपानी उपलब्ध गराइएको छ । सो आयोजनाका लागि स्थानीयवासीले श्रमदानसमेत गरेका नेवाका गण्डकी प्रदेश प्रबन्धक कुमार सिलवालले वताए ।
“खानेपानीको समस्याले गर्दा किसानले तरकारीसमेत लगाउन नपाएका र गाईबस्तुलाई खोलाछेउमा लगेर पाल्नु परेको थियो” अध्यक्ष रासकोटीले भने , “अहिले पानीले धेरै सजिलो बनायो ।” पाइपलाइनबाट पानी नपुगेका सात घरका लागि सोलार प्यानल जडान गरेर लिफ्ट प्रविधिमार्फत पानी खुवाउने योजना रहेको उहाँको भनाइ थियो ।
दर्लिङकै बलगाँसमा पनि गत साउनमा अर्को खानेपानी आयोजना निर्माण गरिएको थियो । रू २२ लाख ३९ हजारको लागतमा निर्माण गरिएको सो आयोजनाबाट ५५ घरधुरीले स्वच्छ पानी खान पाएको उपभोक्ता समितिका सदस्य बिजय केसीले वताए ।
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७