काठमाडौँ। पछिल्लो समय मकवानपुरको प्रमुख पर्यटकीय स्थल दामनस्थित फलामे भर्याङ म्युजिक भिडियाको छायांकन गर्ने केन्द्र बन्न थालेको छ ।
नेपालकै लामो भनिएको उक्त भर्याङ र भर्याङ चढेर पुगिने २४०० मिटर उचाईमा रहेको प्राकृतिक टावर पछिल्लो समय म्युजिक भिडियाको छायांकन गर्ने केन्द्र बन्न थालेको हो । संचार माध्यममा यस सम्बन्धी समाचार प्रकाशित भएपछि उक्त भर्याङमा एकै दिनमा दुईवटा म्युजिक भिडियोको छायांकन गरिएको छ ।
एकैदिन पालुङ जेसीजका पूर्व अध्यक्ष एवं नवक्षितिज कला केन्द्रका निर्देशक विजयश्याम अमात्यद्वारा निर्देशित ‘परदेशबाट’ एलबम र थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानद्वारा निर्देशित ‘गाजलु आँखैले’ एलबमको म्युजिक भिडियो छायाँकन यो फलामे भर्याङमा भएको हो ।
कलाकार एवम् निर्देशक विजयश्याम अमात्यले आफ्नो भिडियो निर्देशनको यात्रामा २७ औं म्युजिक भिडियो फलामे भर्याङ र प्राकृतिक टावरमा छायांकन गरिएको वताए । रामकुमार प्रधानको रचना, चन्द्र श्रेष्ठको सङ्गीत र प्रताप दासको श्वर रहेको उक्त गीतको म्युजिक भिडियोमा अस्मिता बिक र सुभाष सोनामले मोडेलिङ गरेका छन् भने पालुङ जेसीजका पूर्वअध्यक्ष भरत गोपाली, रत्न गोपाली र छविराम पराजुलीको समेत यसमा अभिनय रहेको छ । गीतमा दशैंमा घर आउन नपाएको परदेशी नेपालीको विषयवस्तु समेटिएको छ ।
दामनको भर्याङमा म्युजिक भिडियो छायांकन गर्न मकवानपुरका युवा गायक तथा संगीतकार आशिष अस्लामी मगर पनि कलाकारहरुको साथमा पुग्नु भएको थियो । उनले आफ्नै स्वर तथा सङ्गीत रहेको ‘गाजलु आँखैले’ गीतमा म्युजिक भिडियोको छायाँकन गरिएको वताए । गीतकार बिवेक पाख्रिनको शब्द रहेको गीतको भिडियोमा भूपेन्द्र राना, सुजु थापा, कृपा गोपाली, सुबु रिजाल र सञ्चारकर्मी अमृत चिमोरियाको अभिनय छ । ‘गाजलु आँखाले’ यसअघि चर्चित ‘क्या राम्री’ म्युजिक भिडियोको ‘पार्ट टु’ को रुपमा रहेको छ ।
“यसै पनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण दामनमा नेपालकै लामो भर्याङ निर्माण भएको खबरले हामीलाई झनै आकर्षित गर्यो ”, अस्लामीले भन्नुभयो । आइतबार छायांकन गरिएको म्युजिक भिडियोमा ड्रोनबाट समेत प्राकृतिक टावर र भर्याङका दृश्यहरु कैद गरिएका छन् ।
त्यस्तै फलामे भर्याङ र प्राकृतिक टावर ‘सेल्फी’ लिन चाहनेहरुका लागि समेत आकर्षणको केन्द्र बन्न थालेको छ । सूर्योदयदेखि नै भर्याङ चढ्नेहरुको ताँती लाग्ने गरेको स्थानीय समाजसेवी विनोद लामाले वताए ।
प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७