बैतडी । चाडपर्वका बेला भीडभाड बढेर कोराना सङ्क्रमणको जोखिम बढ्ने भन्दै बैतडीमा लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आङ्शिकलकडाउन गर्ने जनाएको हो ।
दशैँ तिहारका बेला जिल्लाका विभिन्न शक्तिपीठहरुमा हुने मेला, जात्रा, उत्सव, पर्व, सांस्कृतिक तथा सामाजिक जमघट नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । यसका साथै खेलकुद, विद्यालय, कलेज तथा शैक्षिक संस्थामा पठनपाठन अर्को व्यवस्था नभएसम्मका लागी नगर्न नगराउन सूचनामा भनिएको छ ।
राजनीतिक दल तथा भ्रातृ सङ्गठनहरुलाई भीडभाड हुने गरी आमसभा गोष्ठी नगर्न र नागरिकहरुलाई सार्वजनिक स्थलहरुमा भीडभाड तथा जमघट नगर्न जिप्रकाले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले दशैँ तिहारका बेला स्वास्थ्यसम्बन्धी मापदण्ड पालनाबारे थप कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।
कसैले प्रशासनको आग्रहलाई अटेरी गरे सङ्क्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानूनअनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बैतडीमा हालसम्म ४४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् । उपचारपछि निको भएर ४११ जना घर फर्केका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।
जिल्लामा सबैभन्दा बढी पाटन नगरपालिकामा १९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७