नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) का कृषक स्वास्थ्यका लागि अत्यन्तै उपयोगी मानिने कागतीको व्यावसायिक खेती गर्न थालेका छन् । दैनिक प्रयोग हुने औषधीय गुणयुक्त कागतीको माग बढ्दै गएपछि पछिल्लो समय यसको खेतीमा यहाँका कृषक आकर्षित भएका हुन् ।
प्राय पहाडी क्षेत्रमा गरिने कागती खेती पछिल्लो पटक तराईमा पनि विस्तार हुन थालेको छ । भिटामिन सी प्रशस्त मात्रामा पाइने भएकाले यसको माग बढ्न थालेपछि भारतबाट ठूलो मात्रामा कागती आयात हुँदै आएको थियो ।
बजारको राम्रो सम्भावना र तराईमा समेत कागती खेती विस्तार भईरहेकाले रामग्राम नगरपालिका–१० का कृषक धिरेन्द्र श्रेष्ठ जागिरबाट अवकाश पाएपछि व्यावसायिकरूपमा कागती खेती गर्न थालेका छन् ।
कृष्णगोपाल एकिकृत कृषि फार्म दर्ता गरेर खेती शुरु गरेका उनले आफ्नै डेढ विघा जग्गामा भारतबाट आयातीत गोल्डेन लेमन जातको कागती लगाएका छन् । अहिले हुर्किसकेका ती कागती तीन वर्षमै फल दिने र यसका लागि धेरै सिँचाइ गर्न पर्र्दैन
।
श्रेष्ठले रू छ लाखको लागतमा एक हजार ५०० बिरुवा लगाएका हुन् । कागतीको बोट एकपटक लगाएपछि २५ देखि ४० वर्षसम्म फल दिन्छ । राम्रो उत्पादन भएमा वर्षमा एउटै बोटबाट मात्रै ५०० देखि एक हजार २०० वटासम्म कागती उत्पादन हुने कृषक उनको भनाइ छ ।
एउटै कागतीको रू दुईमा बिक्री भए पनि वार्षिक लाखौँ आम्दानी हुन्छ । बाह्रै महीना फल प्राप्त गर्न सकिने भएकोले कागती मनग्ये आम्दानी हुने श्रेष्ठ बताउँछन् । तालिम नलिएपनि टेलिभिजन र पत्रपत्रिका अध्ययन गरेर खेती गरेका श्रेष्ठले माछापालन र धानखेती पनि गरेका छन् ।
सुनवलनगरपालिका–१२भूमहीकी दुर्गा बस्यालले पनि यसै वर्षदेखि कागती खेती शुरु गरेकी छिन् । बर्दघाट नगरपालिका–२सुखौरामा रहेको आफ्नै १५ कठ्ठा जग्गामा ३०० बिरुवाबाट खेती शुरु गरिएको उनी बताउँछिन् ।
दाङबाट ल्याएको सुन जातको कागती लगाएकी उनले केरा र कागतीको खेती सँगसँगै गरेकी छिन्। एक हजार ३०० केराको बोटसँगै कागती पनि लगाइएको छ । अहिले केराको बोट हुर्किएका छन् । तीन वर्षमा केरा टिपेर सकिएपछि कागतीको फल टिप्न शुरु हुने कृषक बस्यालको भनाइ छ ।
कागतीबाट वार्षिक लाखौँ कमाउन सकिने र वर्षौँसम्मफाईदा पनि लिन सकिने भएकाले कृषक यसतर्फ आकर्षित भईरहेको कृषि ज्ञान केन्द्रका प्रमुख देवेशकुमार मिश्राको भनाइ छ । जिल्लाको रामग्राम, सुनवल र बर्दघाट नगरपालिकाका कृषकहरू पछिल्लो समय कागती खेतीमासम्लग्न छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७