काठमाडौँ। प्रहरी नायब उपरीक्षक अंगुर जिसीको निलम्बन फुकुवा भएको छ। कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा मुद्दा परेपछि उनि निलम्बनमा परेका परेका थिए।
निर्मला बलात्कार-हत्यामा यातना दिएर दिलीपसिंह विष्टलाई बयान गराएको आरोपमा उनी निलम्बनमा परेका थिए। गत साउन १५ गते जिल्ला अदालत कञ्चनपुरले उनीसहित मुद्दा परेका अन्य आठै जनालाई सफाइ दिएको थियो। सफाइ पाएसँगै जिसीले पुनर्वहालीका लागि गृहमा निवेदन दिएका थिए।
‘गृहले निलम्बन फुकुवाको चिठी आज पठाएको छ,’ प्रहरी प्रवक्ता कुवेर कडायतले भने, ‘कानुन शाखाले अब प्रशासनलाई पत्र लेखेपछि उहाँ काममा फर्कनुहुन्छ।’
उनीसँगै निलम्बनमा परेका डिएसपी ज्ञानबहादुर सेठी र सई हरिसिंह धामी भने रिटायर्ड भइसकेका छन्। उनीहरूलाई नियमअनुसार निलम्बन अवधिको पेन्सन पट्टाको व्यवस्था मिलाइने कडायतले बताए।
केन्द्रीय अनुसन्धान ब्युरोबाट अनुसन्धानका लागि खटिएका जिसीलाई तत्कालीन प्रहरी नेतृत्वले यातनापूर्वक बयान गराएको आरोपमा निलम्बन गरेको थियो। तर, अदालतले भने सफाइ दिएको थियो।
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७