काठमाडौँ। भारतमा कोरोनाभाइरस संक्रमणबाट पछिल्लो चौबीस घण्टामा ६८० जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कूल संक्रमितको संख्या ७३ लाख ७ हजार नाघेको छ ।
पछिल्लो चौबीस घण्टामा भारतमा ६७ हजार ७०८ जना नयाँ संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार हाल ८ लाख १२ हजार ३९० जना सक्रिय संक्रमित अवस्थामा छन् भने ६३ लाख ८३ हजार ४४२ जना निको भएका छन् । कोरोना संक्रमितको निको हुने दर भारतमा निकै उत्साहप्रद रहे पनि हालसम्म १ लाख ११ हजार २६६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
यसैबीच, भारतमा सर्वाधिक असर परेको महाराष्ट्र राज्यमा एक लाख ९६ हजार ७६१ जना कोरोनाभाइरसका सक्रिय संक्रमित बिरामी रहेका छन् । महाराष्ट्रमा हालसम्म ४० हजार ८५९ जनाको ज्यान गइसकेको छ । यहाँ १३ लाख १६ हजार व्यक्ति निको भएका छन् ।
अर्को सर्वाधिक असर परेको कर्नाटक राज्यमा एक लाख १६ हजार व्यक्ति सक्रिय संक्रमित रहेका छन् । यस राज्यमा हालसम्म १० हजार १९८ जनाको मृत्यु भएको छ ।
केरला राज्यमा भने १ हजार ६६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार यहाँ २ लाख १५ हजार व्यक्ति निको भएका छन् भने ९३ हजार ९२५ जना अझै सक्रिय संक्रमित अवस्थामा छन् ।
आन्ध्र प्रदेशमा ६ हजार ३१९ जनाको मृत्यु भइसकेको छ भने अझै ४१ हजार ६६९ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । त्यस्तै पाँच हजार ८९८ जनाको मृत्यु भएको नयाँदिल्लीमा २१ हजार ९०३ जना सक्रिय संक्रमित छन् ।
यसैबीच, भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा ९ करोडभन्दा बढी कोरोना परीक्षण गरिएको जनाएको छ । एएनआई
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७