झण्डै दुई हप्तापछि अमेरिकी राष्ट्रपति डोनान्ड ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा फेरी सहभागी हुन थालेका छन् । कोरनोभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उनी केही दिन अस्पतालमा र केही दिन राष्ट्रपति निवासमा मात्रै रहेका थिए । सार्वजनिक कार्यक्रमहरूमा सहभागी भएका थिएनन् ।
त्यसपछि सोमबार पहिलो पटक उनी फ्लोरिडामा आयोजित चुनावी कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रममा उनी मास्क विना सहभागी भएका थिए, भने भिडमा रहेका अन्य अधिकांश सहभागीहरूले पनि मास्कको प्रयोग गरेका थिएनन् ।
उनीले कार्यक्रममा जोडतोडका साथ भाषण गर्दै आफू स्वस्थ भइसकेको र आफूलाई कुनै शारीरिक वा स्वास्थ्यसम्बन्धी समस्या नरहेको दावी गरे । उनले प्रतिस्पर्धी जोन बाइडनलाई कट्टर समाजवादीहरूको कठपुतली भएको र सञ्चारमाध्यमलाई पनि पक्षपाती भएको आरोप लगाए ।
उनले आगामी चार दिनमा निर्वाचनका बेला कडा टक्कर हुने भनिएका चारवटा राज्यमा भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति ट्रम्पलाई ११ दिन अगाडि कोरोनाको लक्षण देखा परेको थियो । गत आइतबार मात्रै उनी सङ्क्रमणमुक्त भएका निजी चिकित्सकहरूले बताएका थिए ।
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७